निर्वाचन प्रहरीमा आवेदन दिने आज अन्तिम दिन, केही जिल्लामा समय थप

  • प्रकाशित मिति : २०८२ माघ १, बिहीबार
  • नेपाल टेल संवाददाता

फागुन २१ मा हुने निर्वाचनको लागि परिचालन गर्ने निर्वाचन प्रहरीको लागि आज अन्तिम दिन आवेदन लिइँदैछ । प्रहरी प्रधान कार्यालयले प्रकाशन गरेको सूचना अनुसार बिहीबार साँझ ५ बजेसम्म आवेदन लिने भनिए पनि केही जिल्लामा आवेदन समय बिस्तार गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्की र स्याङ्जाले थप दुई दिन आवेदन लिने समय थप गरेर सूचना प्रकाशन गरेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार कास्की जिल्लालाई आवश्यक पर्नेभन्दा कम आवेदन परेको हुनाले गृह मन्त्रालयको निर्देशन अनुसार माघ ३ गतेसम्म आवेदन लिने समय थप गरिएको छ ।



त्यस्तै, निर्वाचन प्रहरीमा आवेदन दिने समय २ दिन थप गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका इन्स्पेक्टर कमल नेपालीले जानकारी दिए ।

प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार अहिलेसम्म १ लाख ६० हजारले निर्वाचन प्रहरीमा भर्नाको लागि आवेदन दिएका छन् । रातोपाटीसँग कुरा गर्दै काफ्लेले भने- ‘आज पनि आवेदन दिने क्रम चलिरहेको छ, हामीले २ लाख बढी आवेदन पर्ने आकलन गरेका छौँ ।’

प्रहरीले १ लाख ३३ हजार ९८० जना र सशस्त्रले १५ हजार ११० जना निर्वाचन प्रहरी भर्ना लिँदैछ ।