काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले राजीनामा दिएलगत्तै उपमेयर सुनिता डंगोलले नगर कार्यपालिकाको बैठक डाकेकी छन् । कार्यवाहक उपमेयरको भूमिकामा रहेकीले बालेनलाई धन्यवाद ज्ञापनका लागि बैठक राखेकी हुन् ।
आकस्मिकरूपमा बोलाइएको बोर्ड बैठकमा डंगोलले महानगर प्रमुख साहको राजीनामा आएको अवगत गराएकी थिइन् । बैठकले साहलाई अहिलेसम्मको कार्यसम्पादनका लागि धन्यवाद ज्ञापन गरेको छ । अरु एजेन्डा नभएकाले बैठक केही मिनेटमै सकियो ।
स्रोतका अनुसार अन्तिम दिनमा मेयर बालेन र उपमेयर सुनिताको भेट नै भएन । बालेनले आज राजीनामा दिन्छन् वा दिँदैनन् भन्नेमै अन्योल थियो । उनले सुनितालाई केही पनि बताएका थिएनन् । मिडियाहरुमा बालेनले राजीनामा नदिने र मनोनयनपत्र दाखिलापछि स्वत पदमुक्त हुने समाचार आइरहेका थिए ।
तर, अचानक राजीनामापत्र सामाजिक सञ्जालमा आयो । स्रोतका अनुसार मेयर बालेनको सचिवालयले उपमेयरलाई राजीनामापत्र बुझाएका थिए । बालेनले उपमेयरसँग भेट नगरेको बुझिएको छ ।
अपर्झट राजीनामापत्र आएकाले मेयरको बिदाइमा कुनै कार्यक्रम हुन नसकेको उपमेयर निकट स्रोत बताउँछ ।
‘उहाँले भेट गरेर अहिलेसम्मको कामकारबाहीको बुझबुझारथ गर्नुहुने अपेक्षा थियो, तर उहाँहरूको भेट नै भएन,’ स्रोतले भन्यो, ‘राजीनामा पनि सचिवालयका साथीहरूबाट आयो ।’
बालेन राजीनामा पठाएलगत्तै रास्वपा कार्यालय गएका थिए । त्यहाँ करिब १० मिनेट बिताएर उनी जनकपुर प्रस्थान गरे । झापा ५ बाट उम्मेदवारी दिने तयारीमा रहेका बालेनको चुनावी अभियान अब सुरू भएको छ ।