झापा-२ मा पूर्वसभामुख र उपसभामुखको भिडन्त निश्चित

  • प्रकाशित मिति : २०८२ माघ ५, सोमबार
  • नेपाल टेल संवाददाता

झापा-२ मा पूर्वसभामुख देवराज घिमिरे र पूर्वउपसभामुख इन्दिरा रानामगरको रोचक भिडन्त हुने भएको छ । घिमिरे एमालेका उम्मेदवार हुन् भने रानाले रास्वपाबाट टिकट पाएकी छन् ।

झापा-२ मा रास्वपाले निशा डाँगीलाई उभ्याउने तयारी गरेको थियो । रानाले पनि सुरुदेखि दाबी गरेकी थिइन् । नेतृत्वले रानालाई उदयपुर-२ मा लड्न प्रस्ताव गरे पनि उनले मानिनन् । अन्ततः डाँगीलाई झापा-१ मा सारेर रानालाई २ मा टिकट दिइएको हो । उनीहरु दुवै झापा-२ कै बासिन्दा हुन् ।



राना यसअघि समानुपातिकबाट सांसद बनेकी थिइन् । रास्वपाले उनलाई उपसभामुख बनाएको थियो । उनको कार्यकाल केही विवादित बन्यो। केही व्यक्तिलाई अमेरिकाको भिसाका लागि दूतावासलाई उपसभामुखको लेटरहेडमा लेखेको पत्र सार्वजनिक भएपछि उनी विवादमा मुछिएकी थिइन् ।

सभामुख घिमिरे कुनै ठूलो विवादमा नमुछिए पनि सभा सञ्चालनमा सन्तुलन कायम राख्न नसकेको आरोप खेपिरहनु पर्यो । एमाले अध्यक्ष केपी ओलीको इशारामा चल्ने गरेको आरोपबाट उनी मुक्त हुन् सकेनन् । घिमिरे यसअघिको चुनावमा झापा २ बाटै विजयी बनेका थिए ।