च्याम्पियन्स लिगमा रियल मड्रिडको फराकिलो जित

  • प्रकाशित मिति : २०८२ माघ ७, बुधबार
  • नेपाल टेल संवाददाता

युरोपियन च्याम्पियन्स लिग फुटबलमा स्पेनी महारथी क्लब रियल मड्रिडले फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा रियलले मोनाकोलाई ६-१ गोलअन्तरले हराएको हो ।

रियलको जितमा किलियन एमबाप्पेले २ गोल गर्दा फ्रान्को मास्तानतुनो, भिनिसियस जुनियर र जुड बेलिङहमले १-१ गोल गरे । एक गोल रियलले उपहार पायो । मोनाकोका जोर्डज तेजेले १ गोल गरे ।



खेलको पाँचौं मिनेटमा एमबाप्पेले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । २६औं मिनेटमा उनले नै गोल थप्दै अग्रता दोब्बर पारे । पहिलो हाफमा रियल २-० ले अगाडि रह्‍यो ।

दोस्रो हाफको ५१औं मिनेटमा मास्तानतुनोले गोल गरे भने ५३औं मिनेटमा थिलो केहररबाट आत्मघाती गोल भएपछि रियल ४-० ले अगाडि बढ्यो ।

६३औं मिनेटमा भिनिसियस जुनियरले गोल गरे। तेजेले ७२औं मिनेटमा गोल फर्काएपनि सान्त्वनाका रूपमा रह्‍यो । बेलिङहमले ८०औं मिनेटमा गोल गर्दै रियलको फराकिलो जित पूरा गरे ।

जितपछि रियल ७ खेलमा १५ अंकका साथ च्याम्पियन्स लिगको दोस्रो स्थानमा उक्लिएको छ । पराजित मोनाको ९ अंकसहित २०औं स्थानमा छ ।

गएराति भएको अर्को खेलमा स्पेनिस क्लब भिलारियल अयाक्ससँग २-१ ले पराजित भएको छ ।