पश्चिमी वायुको प्रभाव: पहाडी–हिमाली क्षेत्रमा बदली, हल्का वर्षा र हिमपातको सम्भावना

  • प्रकाशित मिति : २०८२ माघ १०, शनिबार
  • नेपाल टेल संवाददाता

हाल नेपालमा पश्चिमी वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रभावका कारण सुदूरपश्चिम प्रदेशसहित गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा सामान्य बदली रहने तथा अन्य भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैगरी गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ।



आज राति पनि पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।