बुधबार विहान साढे १० बजे तिर एउटा खबर आगोको मुस्लोझै फैलियो । खबर थियो बुटबलमा उपचाररथ गुल्मिका कोरोना संक्रमितको ज्यान गयो ।
प्रदेश-५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले को भनाइमा आधार भएर समाचार प्रकाशित भएपछि हामीले बुटलबलको क्रिमसन अस्पतालको सूचना अधिकारी चन्द्रकान्त बस्याललाई सम्पर्क गर्यौं ।
हामीसँगको टेलिफोन सम्पर्कमा बस्यालले भने उनको निधन भएको छैन । मन्त्रिज्यूलाई कसैले गलत सूचना दियो । त्यही सूचना मन्त्रिज्यूले सञ्चारमाध्यमलाई दिनुभयो ।
हामीसँग ११ बजेर ५ मिनेटमा कुरा गर्दा बस्यालले भने उहाँको अवस्थामा खासै सुधार भएको छैन । केही भएको खण्डमा अस्पताले प्रेस विज्ञप्ती निकालेर सार्वजनिक गर्छ ।
सोमबार कोरोना संक्रमण पुष्टि भएका उनलाई रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना गरिएको थियो।
उनी गुल्मिको मदाने गाउँपालिका– ६ पुर्कोट दहका हुन् । जण्डिस र निमोनिया भएको भन्दै आफन्तले १ जेठमा क्रिमसन अस्पताल भर्ना गरेका थिए । क्रिमसन चिकित्सकहरुले भने एक्यिुट इन्सेफलाइटिस सिन्ड्रोम देखिएको र निमोनिया भएको भन्दै दुई दिन आईसीयूमा राखेर उपचार गरेका थिए ।