चारदिने जापान भ्रमणमा राष्ट्रपति पौडेल, सम्राट् र प्रधानमन्त्रीसँग भेटवार्ता हुने

  • प्रकाशित मिति : २०८२ माघ १६, शुक्रबार
  • नेपाल टेल संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेल चारदिने जापान भ्रमणका लागि आइतबार (माघ १८ गते) जापान प्रस्थान गर्दै छन् । नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सवको अवसरमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल जापान जान लागेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलको भ्रमण माघ १८ देखि २१ गतेसम्म रहनेछ । भ्रमणका क्रममा माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट् नारुहितोसँग राजकीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । सोही दिन राष्ट्रपति पौडेल र जापानका प्रधानमन्त्री ताकाइची सानेबीच पनि भेटवार्ता हुने कार्यतालिका रहेको मन्त्रालयले जनाएको छ ।



त्यसअघि माघ १९ गते राष्ट्रपति पौडेल जापान सरकारका तर्फबाट विदेश राज्यमन्त्री होरी इवाओले आयोजना गर्ने नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सवसम्बन्धी विशेष समारोहमा सहभागी हुनेछन् । सोही दिन विदेश राज्यमन्त्री इवाओले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ ।

भ्रमणका क्रममा राष्ट्रपति पौडेलले जापानी व्यापारिक समुदायसँग पनि भेटघाट गर्नेछन् । साथै, टोकियोस्थित नेपाली दूतावासले आयोजना गर्ने सम्मान कार्यक्रममा पनि उनी सहभागी हुनेछन् ।

राष्ट्रपति पौडेलको जापान भ्रमणमा उनकी श्रीमती सविता पौडेलसहित उच्चपदस्थ सरकारी अधिकारीहरू सहभागी रहनेछन् । राष्ट्रपति पौडेल माघ २१ गते काठमाडौं फर्कने कार्यक्रम छ ।