महेश बस्नेतलाई गेस्ट बनाउँदा जेनजीबाट धाकधम्की आएको विशाल भण्डारीको गुनासो

  • प्रकाशित मिति : २०८२ फाल्गुन १३, बुधबार
  • नेपाल टेल संवाददाता

‘कमेडी नाइट विथ च्याम्पियन’ मा अतिथि बोलाएकै कारण धम्की आएपछि कार्यक्रम सञ्चालक विशाल भण्डारीले एक स्टाटस लेख्दै सबैको ध्यानाकर्षण गराएका छन् । धाकधम्की नरोकिए आफूले कानुनी उपचार खोज्ने उनको चेतावनी छ ।

‘हामीलाइ हरेकपटक एउटा दलको नेता बोलाउँदा, अर्को पक्षबाट सामाजिक सञ्जालमा आक्रमण हुँदै नै आइरहेको हो । यो कुनै नौलो कुरा हैन,’ उनले लेखेका छन, ‘तर भ्रष्टाचार, नातावाद, व्यक्तिवाद र दलको सिण्डिकेटको विरोध गर्दै सडक आन्दोलन गरेका जेनजी समुहका भाइबहिनीले आज आउँदै गरेको एपिसोडको ट्रेलर हेरेकै भरमा महेश बस्नेत बोलाएको भनेर सत्तोसराप गरिरहेका छन् ।’



आफ्नो विचार र समर्थनलाई साइडमा राखी निस्पक्ष रुपमा कार्यक्रममा अतिथि बोलाउँदा गाली आएको उनको गुनासो छ । महेश बस्नेतअघि कार्यक्रममा रास्वपाका नेता ३ पटक, राप्रपाका १ पटक, कांग्रेसको १ पटक, कलमका १ पटक र एमालेको नेता १ पटक बोलाएको उनले बताएका छन् ।

ट्रेलर हेरेकै भरमा गाली आएपछि भण्डारीले जेनजीहरुसँग दुखेसो गरेका छन् । उनले भनेका छन, ‘के हामीले यस्तै समाज र सत्ता बनाउन खोजेको हो, जहाँ कुनै दल विशेषको व्यक्ति मात्र कार्यक्रमले गेस्ट बोलाउनु पर्ने ? पुरानालाई मात्र उडाउनु पर्ने ? नयाँलाई देवत्वकरण नै गरिदिनु पर्ने ? पुरानाको मात्र मिमिक्री गर्नुपर्ने अनि नयाँको गर्नै नहुने ?’

आफुहरु परिवर्तनकै पक्षधर भएकाले कार्यक्रमलाई प्रजातान्त्रिक स्वरुपमा उभ्याएर, निस्पक्ष रुपमा सञ्चालन गर्न रोक्ने, छेक्ने र धम्काउने क्रियाकलाप नगर्न समेत भण्डारीले सबै दलका नेता कार्यकर्तालाई अनुरोध गरेका छन् ।