आरडिटी परीक्षण पोजेटिभ देखिएका व्यक्तिको कोरोना रिर्पोट आयो

  • प्रकाशित मिति : २०७७ जेष्ठ ७, बुधबार
  • nepaltale.com

उत्तरी नाम्खा गाउँपालिकाबाट मंगलबार संकलन गरी हेलिकप्टरमार्फत जुम्ला पठाइएका सबै स्वाबको रिपोर्ट नेगेटिभ आएको छ।

गाउँपालिकामा आरडिटी पोजेटिभ देखिएको एक जना व्यक्तिको रिपोर्ट पिसिआर परीक्षण गर्दा नेगेटिभ आएको छ। आरडिटी पोजेटिभ आउँदा पिसिआर परीक्षणका लागि प्रतिष्ठानमा पुगेको उक्त स्वाबको आज कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा परीक्षण गर्दा नेगेटिभ देखिएको हो।

प्रतिष्ठानका निर्देशक डां मंगल रावलका अनुसार हुम्लामा आरडिटी गर्दा नाम्खा ५ का एक व्यक्तिको रिपोर्ट पोजेटिभ आएपछि हुम्लामा निकै त्रास बढेको देखिएकाले स्थानीय प्रशासनले सार्वजनिक गरेको थिएन। प्रतिष्ठानमा ती व्यक्तिको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। पिसिआरमा नेगेटिभ आएपछि हुम्लामा त्रासको बातावरण हटेको छ । प्रतिष्ठानले पोजेटिभ देखिएको रिपोर्टसहित नाम्खाबाट लिइएका स्वाबलाई प्राथमिकता दिएर परीक्षण गरेको डा रावलले बताउनुभयो।

जिल्लाबाट प्रतिष्ठान पठाइएका ३३ र सुर्खेत पठाइएका २१ जनाकै रिपोर्ट नेगेटिभ आएको नाम्खा स्वास्थ्य संयोजक नर भण्डारीले जानकारी दिनुभयो। मंगलबार मात्रै ३३ जनाको प्रतिष्ठान र २१ जनाको केही दिन अगाडि सुर्खेत पठाइएकामा सबै नेगेटिभ आएको छ। हुम्लाबाट नाम्खासहित सर्केगार्ड, चंखेली, अदानचुली र ताँजकोट गाउँपालिकाबाट ४११ जनाको स्वाब लिइएको छ।

अन्यको पिसिआर विधिमा परीक्षण भइरहेको र बिहीबारसम्म सबैको रिपोर्ट आउने भएको छ। प्रतिष्ठानले हुम्लाका पाँच गाउँपालिकामध्ये चंखेलीबाट ९९, सर्केगार्डबाट ८०, नाम्खाबाट ३३, अदानुचलीबाट एक सय र ताँजाकोटबाट ९९ जनाको स्वाब लिएको थियो। संकलित स्वाब छिटो प्रतिष्ठानमा लैजान अन्य माध्यम नभएपछि कर्णाली प्रदेश सरकारको सहयोगमा हेलिकप्टरको व्यवस्था गरिएको हो।