विश्वभर घट्यो कोरोना संक्रमण, कुन देशमा कति ?

  • प्रकाशित मिति : २०७७ बैशाख ८, सोमबार
  • nepaltale.com

काठमाडौँ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१० देशमा फैलिएको छ। अघिल्लो दिनको तुलनामा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा मृत्यु हुने र संक्रमिणको संख्या विश्वभर घटेको छ।

पछिल्लो २४ घण्टामा मात्रै कोरोना भाइरसबाट ४ हजार ९६२ जनाको मृत्यु भएको छ भने ७५ हजार नयाँ संक्रमित थपिएका छन्। अघिल्लो दिन कोरोना भाइरसबाट २४ घण्टामा मात्रै ६ हजार ५०५ जनाको मृत्यु भएको थियो भने ८१ हजार २८७ जना नयाँ संक्रमित थपिएका थिए।

सोमबार बिहानसम्म विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ६५ हजार ५८ पुगेको छ भने २४ लाख ६ हजार ९०५ जना संक्रमित भएका छन्। कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा पछि पछिल्लो २४ घण्टामा मृतकको संख्यामा कमी आएको छ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ५ सय ३९ जनाको मृत्यु भएको छ भने २५ हजार ४० जना नयाँ संक्रमित फेला परेको छन्। यो सँगै अमेरिकामा अहिलेसम्म मृत्यु हुनेको संख्या ४० हजार ५५३ पुगेको छ भने ७ लाख ६३ हजार ८३२ जना संक्रमित भएका छन्।

त्यस्तै इटली र स्पेनमा पनि मृत्यु हुनेको संख्यामा कमी आएको छ। पछिल्लो २४ घण्टामा इटलीमा ४३३ जना र स्पेनमा ४१० जनाको मृत्यु भएको छ । इटलीमा अहिलेसम्म २३ हजार ६६० जनाको मृत्यु भएको छ भने १ लाख ७८ हजार ९९२ जना संक्रमित भएका छन्। त्यस्तै स्पेनमा २० हजार ४५३ जनाको मृत्यु भएको छ भने १ लाख ९८ हजार ६७४ जना संक्रमित भएका छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा जर्मनमा १०४ जना, फ्रान्समा ३९५ जना, यूकेमा ५९६ जना, टर्कीमा १२७ जना, बेल्जियममा २३० जना, क्यानडामा ११७ जनाको मृत्यु भएको छ।