नेपाल-भारतबीचको सीमा विवाद पेचिलो बन्दै गएको छ। भारतले नेपाली भूमी लिपुलेकमा सडक बनाएपछि नेपालले नयाँ राजनीतिक नक्सा जारी गरेको छ।
नेपालले बुधबार नयाँ नक्सा जारी गरेपछि भारतले नक्सा अमान्य रहेको जवाफ दिएको छ।
सीमा विवादबारे अहिले बहस चल्न थालेको छ। भारतीय पक्षले नेपाली भूमी कालापानी, लिम्पयाधुरा र लिपुलेक आफ्नो रहेको दाबी गर्दै आएको छ।
नेपालको रहेको उक्त भुभागबारे बहस भइरहँदा अहिले भारतीय पक्षले भने ‘नेपाल चीनको इशारा’मा चलेको भन्दै अपमानित गर्न खोजेको छ।
भारतीय विज्ञहरुले समेत नेपाल चीनको इसारामा चलेको आरोप लगाउन थालेका छन्। यस्तै, प्रधानमन्त्री केपी ओलीको बोलीलाई लिएर बहस ‘डाइभर्ट’ गर्न खोजेका छन्।
भारतमा दक्षिण एसियाका विज्ञ एवं नेपाल मामलाका विशेष जानकार मानिने एसडी मुनीले पनि नेपालीको निर्णय क्षमतामाथि प्रश्न उठाएका छन्।
नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित नयाँ जक्सा जारी गरेपछि मुनीले नेपालले एकपक्षीय रुपमा नयाँ नक्सा जारी गरेको टिप्पणी गरेका छन्।
यसको जवाफमा काँग्रेस नेता गगनकुमार थापाले नेपालीको निर्णय क्षमताका प्रश्न नगर्न चेतावनी दिएका छन्।
लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग हो र यस सम्बन्धमा नेपाल सरकारले चालेको कदममा दृढ रुपमा उभिएको स्पष्ट पारेका छन्। तर, मुनीले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय भाइरस भनेर गरेको टिप्पणीमा थापाले पनि प्रधानमन्त्री ओलीको यस सम्बन्धको अभिव्यक्तिलाई अवैज्ञानिक र आफूहरुपनि असहमत रहेको बताएका छन् ।