भारतीय विदेश मन्त्रालयले लिपुलेक विवादमा नेपालसँग संवादका लागि तयार रहेको बताएको छ। बिहीबार साप्ताहिक मिडिया ब्रिफिङका क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले यस्तो बताएका हुन्।
उनले भने ‘कैलाश मानसरोवर यात्रा १९५४ देखि चल्दै आएको छ। यो कुनै नयाँ चीज होइन, हामीले प्रस्ट रुपमा भनेका छौं उनीहरुको दाबी ठिक छैन। बाँकी हाम्रो र नेपालबीच जतिपनि मुद्दा छन् हामी संवादमा बसेर चर्चा गर्न तयार छौं।’
साथै, उनले सीमा विवादबारे पनि वार्तामा बसेर संवाद गर्न तयार रहेको बताए। उनले भने ‘फलानो चिज हाम्रो हो, यसमा हाम्रो पोजिसन छ भनेर एकतर्फ दाबी गर्नु ठिक होइन। केही विवाद छ भने हामी बसेर संवाद गर्न सक्छौं।’
साथै उनले नेपालाई तेल र मल पनि दिन तयार रहेको बताए। उनले भने – ‘नेपाल र भारतबीच बहुआयामिक सम्बन्ध छ। दुवै देशबीच आदानप्रदान चलिरहेको छ। सम्झौता अनुसार तेल र मल आपूर्ति प्रदान गर्नेछौं।’