प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे के भने रास्वपा सभापति लामिछानेले?

  • प्रकाशित मिति : २०८३ जेष्ठ २३, शनिबार
  • नेपाल टेल संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले स्पष्ट पारिसकेका कारण थप स्पष्ट पार्नु आवश्यक नरहेको बताएका ंछन्।

भारत भ्रमणबाट फर्किएका सभापति लामिछानेले विमानस्थलमा पत्रकारहरूलेप्रधानमन्त्री बालेन शाहले संसदको रोस्ट्रमबाट ‘नेपालले पनि भारतको जमिन मिचेको रहेछ’ भनेको विषयमा धारणा मागेका थिए।



उनले यो विषयमा परराष्ट्र मन्त्रालयले आधिकारिक रूपमा बोलिसकेको कारण थप बोल्न आवश्यक नरहेको बताएका हुन्।

‘प्रधानमन्त्रीको अभिव्यक्तिको विषयमा जुन प्रश्न उठ्यो त्यसको वास्तविकता र हामीले यो भन्न खोजेका हौं भनेर परराष्ट्र मन्त्रालयले आधिकारिक रूपमा बताइसकेपछि त्यो भन्दा थप आधिकारिकता खोज्नुपर्ने आवश्यकता म देख्दिनँ,’ उनले भने।

उनले परराष्ट्र मामिला सम्बन्धी विषय पार्टीको नभई देशको हुने बताए।

‘देशको परराष्ट्र नीति भएकाले र सरकारको प्रमुख प्रधानमन्त्री भएका हिसाबले प्रधानमन्त्रीले बोलेको कुरा सरकारले त्यसको बारेमा केहो भनेर परराष्ट्र मन्त्रालयले स्पष्ट रूपमा विज्ञप्तीमार्फत जानकारी गराइसकेको छ,’ उनले भने, ‘त्यो नै आधिकारिक धारणा हो।’