रास्वपा निर्वाचन तालिका फेरि संशोधन : पदाधिकारीका लागि राति सवा १२ सम्म मतदान हुने

  • प्रकाशित मिति : २०८३ असार ११, बिहीबार
  • नेपाल टेल संवाददाता

रास्वपा निर्वाचन तालिका फेरि संशोधन गरिएको छ । पाँचौंपटक संशोधन भएको निर्वाचन तालिकाअनुसार पार्टी पदाधिकारीका लागि राति सवा ९ बजेदेखि मध्यराति सवा १२ बजेसम्म मतदान गर्ने समय तोकिएको छ ।

केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाको पाँचौं संशोधनअनुसार पदाधिकारी निर्वाचनको अन्तिम परिणाम शुक्रबार राति १:३० बजेसम्म घोषणा गरिनेछ।



निर्वाचन कार्यतालिकाअनुसार पहिलो चरणको मतगणना बिहीबार दिउँसो १ बजेदेखि ३ बजेसम्म महाधिवेशनस्थलमा सञ्चालन हुनेछ। त्यसपछि प्रवासमा बसोबास गर्ने सदस्यहरूका लागि मोबाइल एपमार्फत दिउँसो ३:३० बजेदेखि ४:३० बजेसम्म अनलाइन मतदानको व्यवस्था गरिएको छ। पहिलो चरणको मतपरिणाम साँझ ४:४५ बजे सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ।

पहिलो चरणको नतिजापछि दोस्रो चरणको निर्वाचन तयारी साँझ ५ बजेदेखि ६:३० बजेसम्म हुनेछ। त्यसपछि पदाधिकारी पदका लागि उम्मेदवारी फारम वितरण तथा दर्ता प्रक्रिया सुरु हुनेछ। उम्मेदवारहरूको प्रारम्भिक नामावली साँझ ७:३० बजे प्रकाशन गरिनेछ भने दाबी–विरोध र जाँचबुझका लागि छुट्टै समय निर्धारण गरिएको छ।

निर्वाचन तालिकाअनुसार उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्ने अन्तिम समय साँझ ८:३० बजेसम्म तोकिएको छ। अन्तिम उम्मेदवारको नामावली साँझ ८:४५ बजे सार्वजनिक गरिनेछ। त्यसपछि ३० मिनेटको मौन अवधि लागू हुनेछ।

पदाधिकारी पदका लागि मतदान राति ९:१५ बजेदेखि १२:१५ बजेसम्म सञ्चालन हुनेछ। मतदान सम्पन्न भएपछि तत्काल मतगणना सुरु गरिनेछ र राति १:३० बजेभित्र अन्तिम परिणाम घोषणा गर्ने कार्यतालिका छ।

हेर्नुहोस् तालिका :

निर्वाचन_कार्यतालिका_पाचौ_संशोधन–1782386718