राष्ट्रिय स्वतन्त्र पार्टीको ९९ जना केन्द्रीय सदस्यको लागि भएको मतदानको परिणाम तयार भए पनि प्रवासको नतिजा नआउँदा अझै मतपरिणाम घोषणा हुन सकेको छैन ।
साढे १२ बजे हाराहारीमा मतदान सकिएको थियो । तर, १७० जना प्रवासमा प्रतिनिधि रहेका प्रतिनिधिको मत अझै गणना हुन सकेको छैन । रास्वपा नेता मनिष झाले १ सय ६३ जनाले प्रवासबाट मतदान गरेको बताएका छन् ।
रास्वपा निर्वाचन आयोगका केन्द्रीय सहसंयोजक राम गुरुङ छिट्टै नतिजा दिनेगरी काम भइरहेको बताउँछन् । रास्वपा स्रोतका अनुसार प्रवासमा गरेको मतदानलाई यता अपडेट गर्न प्राविधिक समस्या भएकोले मत परिणाम आउन ढिलाइ भएको हो ।
प्रवासका सदस्य ‘घण्टी’ एप्लिकेसनबाट मतदान गर्दै छन् । उनीहरूले आफ्नो प्रोफाइलमा गएर मन लागेका प्रतिनिधिलाई मतदान गर्न सक्छन् । तर, प्राविधिक तयारी पर्याप्त नहुँदा सिंगो महाधिवेशनको निर्वाचन कार्यतालिका प्रभावित भएको छ ।
निर्वाचन आयोगले मध्यरात सम्पन्न गर्नेगरी पाँचौ संशोधन गरेर निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
राम-लक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मणप्रसाद रिमाल १ बजे नै मतपरिणाम तयारी अवस्थामा राखेर बसेको बताउँछन् । उनले भने, ‘एकैछिनमा प्रवासको रिजल्ट दिन्छौँ भन्नुहुन्छ तर १ बजेदेखि मागिरहेका छौँ, अझै आएको छैन ।’