पछिल्लो २४ घण्टामा कोरोनाबाट विश्वभर २ हजार ८ सय २६ जनाको मृत्यु

  • प्रकाशित मिति : २०७७ जेष्ठ १२, सोमबार
  • nepaltale.com

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्यामा कमी आएको छ। पछिल्लो २४ घण्टामा विश्वभर २ हजार ८ सय २६ जनाको मृत्यु भएको छ भने ९६ हजार ५०५ जना नयाँ संक्रमित थपिएका छन्। यो संख्या अघिल्लो दिनको तुलनामा निकै कम हो।

अघिल्लो दिन विश्वभर कोरोना भाइरसबाट ४ हजार १ सय ८३ जनाको मृत्यु भएको थियो भने ९९ हजार ८ सय ७२ जना नयाँ संक्रमित थपिएका थिए।

यो सँगै विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ लाख ४६ हजार ६ सय ८५ पुगेको छ भने ५४ लाख ९७ हजार ९ सय ९८ जना संक्रमित भएका छन्।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड १९) को महामारी विश्वका २१३ देशमा फैलिएको छ।

ब्राजिलमा पछिल्लो २४ घण्टामा ७०३ जनाको मृत्यु भएको छ भने १६ हजार २ सय २० जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ हजार ७ सय १६ पुगेको छ भने ३ लाख ६३ हजार ६ सय १८ जना संक्रमित भएका छन्।

पछिल्लो २४ घण्टामा अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या केही हप्ता यताकै न्यून छ। पछिल्लो २४ घण्टामा अमेरिकामा ६ सय १७ जनाको मृत्यु भएको छ भने १९ हजार ६ सय ८ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ हजार ३ सय पुगेको छ भने १६ लाख ८६ हजार ४ सय ३६ जना संक्रमित भएका छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा रुसमा १५३ जना, यूकेमा ११८ जना, भारतमा १५६ जना, मेक्सिकोमा १९० जना, इटलीमा ५० जना, फ्रान्समा ३५ जनाको मृत्यु भएको छ।