प्रदेश नम्बर ५ को गुल्मीस्थित धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले आफूलाई कोरोना भाइरस संक्रमण देखिएको बताएका छन्।
जेठ १० गते गाउँपालिका भित्रका केही जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, चालक र प्रहरीको आरडिटी परीक्षण गरिएकोमा एक जना पदाधिकारीको रिपोर्ट पोजेटिभ आएको थियो।
त्यसपछि स्वाब परीक्षण गर्न आफूले स्वाब भैरहवास्थित प्रयोगशाला पठाएकोमा पोजेटिभ देखिएको अध्यक्ष पोखरेलले मंगलबार विज्ञप्ति निकालेर जानकारी गराएका हुन्। उनले आफू गाउँपालिका छाडेर सदरमुकाम तम्घासमात्रै गएको उल्लेख गरेका छन्।
‘मेरो रिपोर्ट पोजेटिभ देखिएकोले धुर्कोट गाउँपालिका कोरोनाबाट उच्च जोखिममा रहेको पुष्टि भएको छ,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ। आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको उनले उल्लेख गरेका छन्।
‘केही हप्ता म एकान्तवास बस्नुपर्ने भएको छ। यसबीचमा मसँग सम्पर्कमा आउनुभएका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङ हुने हुँदा क्वारेन्टिनमा नै बस्न अनुरोध गर्दछु।’
यस्तै, उनले धुर्कोट वडा नम्बर ४ मा भारतबाट आएका एक व्यक्तिमा कोरोना देखिएको बताएका छन्।
पाञ्चायन मावि क्वारेन्टाइनमा रहेका ती व्यक्तिको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको उनको भनाइ छ। कोरोना जोखिमका कारण गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रबाट दिइने सेवा अर्को व्यवस्था नभएसम्म बन्द गरेको पनि उनले बताए।
अहिले गाउँपालिकाको केन्द्र बर्बोटदेखि वडा नम्बर ४ को भुवानसम्मका क्षेत्र सिल गरिएको छ।- सेतोपाटी