काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले लामो लकडाउनका कारण उपत्यकाका भक्तपुर र ललितपुरमा अलपत्र परेका ४ सय मजदूरलाई उद्धार गरी ९ वटा बसमा घर पठाउनुभएको छ ।
काभ्रेका विभिन्न स्थानबाट हिंडेर आएका ठूलो संख्याका मजदूरलाई सुरक्षाकर्मीले भक्तपुरको शंखरापुर नगरपालिकामा रोकेको खबर पाएसँगै मन्त्री पुन आफैं त्यहाँ पुग्नुभएको थियो । काभ्रेका विभिन्न स्थानबाट पैदल हिंडेर राजधानीबाहिर जान आएका ३ सय मजदूरलाई सुरक्षाकर्मीले रोकेका थिए ।
मन्त्री पुनले आइतबार साँझ पानी परिरहेका बेला रुझेरै मजदूरहरुलाई बिदाई गर्नुभयो । लकडाउनले अलपत्र परेकाहरुलाई ९ वटा बसमा राखेर सम्बन्धित जिल्ला पठाइएको हो । त्यसरी पठाइएकामा रोल्पा, दाङ र सल्यानका मजदूरहरु छन् ।
काभ्रेबाट आएकालाई ६ वटा बसमा, भक्तपुरका विभिन्न इँटाभट्टामा कार्यरत मजदूरलाई २ वटा र ललितपुरमा रहेकालाई एउटा बसमा राखेर घर पठाइएको हो । लामो लकडाउनका कारण रोजगारी गुमाउनु परेको र छाक टार्र्नै समस्या हुने गरेको भन्दै मजदूरहरु हिंडेर घर जान लागेका थिए ।
मन्त्री पुनले घर जान हिंडेर बीच बाटोमा अलपत्र परेकालाई गन्तव्यमा पु¥याउने सरकारको नीति र प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मजदूरहरुको उद्धार गरिएको बताउनुभयो ।