बेलायतमा कोरोनाबाट अर्का भूपू गोरखा सैनिकको मृत्यु

  • प्रकाशित मिति : २०७७ जेष्ठ १५, बिहीबार
  • nepaltale.com

कोरोनाबाट बेलायतमा थप एक भूपू गोरखा सैनिकको निधन भएको छ। बेलायतको ग्रेजमा बस्दै आउनुभएका ६१ वर्षीय जीतेन्द्र राईको उपचारका क्रममा मङ्गलबार निधन भएको उहाँको आफन्त बलु राईले जानकारी दिनुभयो। पुख्र्यौली घर खोटाङ भइ उदयपुर बसाइँसराइ गर्नुभएका राई लामो समयदेखि बेलायत बस्दै आउनुभएको थियो।

शुरुमा कोरोनाको लक्षण देखिएपछि घरमै आइसोलेसनमा बस्न अस्पतालले सुझाएको थियो। घरमा १४ दिनसम्म बस्दा पनि ठीक नभएपछि पाँच हप्ता अगाडि उहाँलाई एम्बुलेन्स बोलाएर अस्पताल लगिएको थियो।

घर नजिककैको बासिल्डन अस्पतालको सघन उपचारकक्षमा एक महिना पाँच दिन राखेर उपचार गर्दासमेत कुनै सुधार भएको थिएन। उहाँका तीन छोरा बेलायतमा र श्रीमती नेपालमै हुनुहुन्छ। हालसम्म बेलायतमा कोरोनाबाट निधन हुने नेपालीको सङ्ख्या ६५ पुगेको छ भने राईसहित भूपू गोरखा सैनिकको सङ्ख्या ५४ पुगेको छ।