बिश्व अपडेट : कोरोनाबाट ५६ लाख ८५ हजार संक्रमित, ३ लाख ५४ हजारको मृत्यु

  • प्रकाशित मिति : २०७७ जेष्ठ १५, बिहीबार
  • nepaltale.com

विश्वभर कोरोना संक्रमितको संख्या ५६ लाख ८५ हजार ५ सय १२ पुगेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बिहीबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या अमेरिकामा सर्वाधिक छ। त्यहाँ १६ लाख ९८ हजार ५ सय ८१ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, ब्राजिलमा ४ लाख ११ हजार ८ सय २१, रुसमा ३ लाख ७० हजार ६ सय ८०, बेलायतमा २ लाख ६८ हजार ६ सय १९, स्पेनमा २ लाख ३६ हजार २ सय ५९, इटालीमा २ लाख ३१ हजार १ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ।

विश्वभर ३ लाख ५४ हजार ९ सय ८३ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ। अमेरिकामा मात्रै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख नाघेको छ। त्यहाँ १ लाख २ सय ७६ जनाको मृत्यु भएको हो। विश्वभर कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्याको आधारमा अमेरिकामा मात्रै २८ दशमलव २४ प्रतिशतको मृत्यु भएको छ।

त्यस्तै, बेलायतमा ३७ हजार ५ सय ४२, इटालीमा ३३ हजार ७२, फ्रान्समा २८ हजार ५ सय ९९, स्पेनमा २७ हजार १ सय १७, ब्राजिलमा २५ हजार ५ सय ९८ जनाको मृत्यु भइसकेको छ।

विश्वभर २३ लाख ४७ हजार २ सय ७६ जना संक्रमित अहिले संक्रमणमुक्त भइसकेका छन्। संक्रमणमुक्त हुनेको संख्या अमेरिकामा सर्वाधिक ३ लाख ९१ हजार ५ सय ८ जना छन्।

त्यस्तै, ब्राजिलमा १ लाख ६६ हजार ६ सय ४७, जर्मनीमा १ लाख ६२ हजार ८ सय २०, स्पेनमा १ लाख ५० हजार ३ सय ७६, इटालीमा १ लाख ४७ हजार १ सय १, रुसमा १ लाख ४२ हजार २ सय ८ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा ८ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ। बुधबार एकैदिन १ सय १४ जनामा संक्रमण देखिएको थियो। अहिलेसम्म ४७ जिल्लामा संक्रमण देखिइसकेको छ। त्यस्तै, १ सय ८३ जना संक्रमणमुक्त भइसकेका छन् भने ५ जनाको भने मृत्यु भएको छ।