भारतबाट फर्कने क्रममा बाटोमै ज्यान गएका युवामा कोरोना संक्रमण पुष्टि

  • प्रकाशित मिति : २०७७ जेष्ठ १५, बिहीबार
  • nepaltale.com

भारतको गुजरातबाट नेपाल फर्किने क्रममा बाटोमै ज्यान गएका अर्घाखाँचीका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा बिहीबार गरिएको पिसिआर परीक्षणमा कोरोना पोजिटिभ देखिएको हो। अर्घाखाँचीको भुमिकास्थान नगरपालिका-९ का ती युवाको जेठ १० गते राति लखनउ आसपासमा ज्यान गएको थियो।

उनको शव अर्घाखाँची लगेर सदगद गरिएको थियो। उनले लखनउबाट बस हिँड्दा आफूलाई छटपटी भएको साथीलाई बताएका थिए। त्यसपछि छाति दुख्यो भन्दै वान्ता गरेका उनको बसमै ज्यान गएको थियो। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ।