झापाका ७९ सङ्क्रमितमध्ये ७३ जना सङ्क्रमित एउटै गाउँपालिकाका

  • प्रकाशित मिति : २०७७ जेष्ठ १६, शुक्रबार
  • nepaltale.com

झापाका कुल ७९ जना कोरोना सङ्क्रमितमध्ये ७३ कचनकवल गाउँपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ।

झापाका १५ पालिकामध्ये सबैभन्दा बढी संक्रमित कचनकवल गाउँपालिकाका हुन्।

कार्यालयका अनुसार बिहीबार मात्र कोशी अञ्चल अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा २५ जनामा थप कोरोना सङ्क्रमित पुष्टि भएको छ।

यसअघि ४८ सङ्क्रमित पुष्टि भई उनीहरुलाई उपचारका लागि कोभिड अस्पताल विराटनगर र धरान पठाइएको थियो।

पालिकाका अध्यक्ष अञ्जार आलमले बिहीबार पुष्टि भएका २५ जनालाई थप उपचारका लागि विराटनगर पठाइसकेको बताए।

उनले सङ्क्रमित हुनेमा सबैभन्दा बढी भारतको मुम्बइ, दिल्ली र गुजरातबाट रोजगारमा गएर फर्किएका छन्।

‘जति पनि सङ्क्रमित पुष्टि भएका छन्, उनीहरु सबै क्वारेन्टिनमा बसेका हुन्’, उनले भने, ‘सीमा क्षेत्रमा आइपुगेका कचनकवलवासीलाई सुरक्षित उद्धार गरेर क्वारेन्टिनमा राख्दा थप समुदाय सङ्क्रमित हुनबाट जोगियो।’उनका अनुसार पालिकाभित्रका छ क्वारेन्टिनमा राखिएकामध्ये २७६ को स्वाब सङ्कलन गरी परीक्षणका लागि विराटनगर र धरानस्थित प्रयोगशालामा पठाइएको थियो।