झापाका २७ संक्रमित रातभर अस्पताल बाहिरै

  • प्रकाशित मिति : २०७७ जेष्ठ १७, शनिबार
  • nepaltale.com

शुक्रबार कोरोना संक्रमण पुष्टि भएका झापाका २७ जना संक्रमितलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड अस्पतालले भर्ना लिन नमानेपछि संक्रमित रातभर गेट बाहिरै बसेका छन्।

अस्पतालले भर्ना नलिएपछि संक्रमितहरु शुक्रबार रातभर अस्पतालको गेट बाहिरै बसेका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह उनीहरुमा कोरोना संक्रमण भएको पुष्टि गरेको थियो।

पुष्टिलगत्तै उनीहरुलाई कचनकवल गाउँपालिका-४ स्थित क्वारेन्टाइनबाट साँझ ६ बजेतिर बसमार्फत धरान लगिएको थियो। तर, धरानस्थित कोभिड अस्पतालले राख्ने ठाउँ नभएको भन्दै भर्ना नलिएपछि संक्रमितहरु रातभरि गेटबाहिरै भएका हुन् ।

उनीहरुलाई प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयको समन्वयमा धरान पठाएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए । ‘तर, अस्पतालले बेड खाली नभएको भन्दै भर्ना दिएको छैन। संक्रमतिहरु रातिदेखि अस्पतालको गेट बाहिर बसिरहेका छन्,’उनले भने।