विश्व स्वास्थ्य संगठनसँग सम्बन्ध अन्त्य गरेको ट्रम्पको घोषणा

  • प्रकाशित मिति : २०७७ जेष्ठ १७, शनिबार
  • nepaltale.com

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सँग आफ्नो सम्बन्ध अन्त्य गरेको घोषणा गरेका छन्।

संयुक्त राष्ट्र संघको एजेन्सीको कोष राष्ट्रपति ट्रम्पले यसअघि नै बन्द गराएका थिए। डब्लूएचओ कोरोनाभाइरसको संक्रमण फैलिनबाट रोक्न सुरुबाट असफल रहेको ट्रम्पको आरोप छ। उनले डब्लूएचओलाई चीनको कठपुतली बनेको आरोप लगाउँदै आएका छन्।

शुक्रबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्लूएचओलाई ब्यापक सुधारको अनुरोध गरेका थियौँ तर यस्तो गर्नमा ऊ असफल रह्यो। आजदेखि हामी विश्व स्वास्थ्य संगठनसँग हाम्रो नाता तोड्दैछौँ । अमेरिकी कोष अब वैश्विक जनस्वास्थ्यमा लगाइनेछ।’

गत महिना राष्ट्रपति ट्रम्पले आफूलाई सुधार गर्न डब्लूएचओलाई एक महिनाको समय दिँदै सुधार गर्न नसके स्थायी रुपमा सहयोग कोष बन्द गर्ने बताएका थिए।

अमेरिका डब्ल्यूएचओको सबैभन्दा ठूलो दाता हो। अमेरिकाले हरेक वर्ष डब्ल्यूएचओलाई ४५ करोड डलर आर्थिक सहयोग गर्छ।