काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज बसेको मन्त्रिपरिषद्को बैठकले ल्याएको अध्यादेशलाई ‘बेमौसमी बाजा’को संज्ञा दिनुभएको छ । ट्वीटमार्फत प्रवक्ता शर्माले यस्तो संज्ञा दिनुभएको हो ।
पछिल्लो राजनितिक घटनाक्रमलाई प्रतिपक्षी दल नेपाली कांग्रेसले बेमौसममी बाजा भनेको हो । सरकारले दुईवटा अध्यादेश जारी गरेपछि प्रवक्ता शर्माले ‘बेमौसमी बाजा नबजाऔं’ भन्दै लेखेका छन्, ‘संसारकै अहिलेको प्रधान प्राथमिकता कोरोनामाथि विजय हासिल गर्ने हो । नेपाल देशका लागि पनि यतिबेला अन्य सबै बिषय गौण छन् र गौण रहनुपर्छ । हाम्रो सम्पूर्ण सोच र शक्ति नेपाल र नेपालीको रक्षाका लागि एकतापूर्वक समर्पित रहनैपर्छ । जय नेपाल ।’
मन्त्रिपरिषद् बैठकले राजनीतिक दल फुटाउन संसदीय दल र केन्द्रीय समितिमध्य एकमा ४० प्रतिशत पुराए हुने अध्यादेश जारी गरेपछि नेपाली राजनीतिमा नयाँ तरङ्ग आएको छ । अर्को अध्यादेशमा संवैधानिक परिषद्मा हुने निर्णय सर्वसम्मत नभए बहुमतबाटै हुनेगरी संशोधन गरिएको छ । यो व्यवस्थाले प्रतिपक्षको सहमति वा सहभागिताबिना नै निर्णय गर्ने बाटो खुल्ने छ ।