पैदल हिँडेर पोखराबाट बागलुङ हुँदै रोल्पा पुगेकी दुई महिनाकी सुत्केरी क्वारेन्टाइनमा

  • प्रकाशित मिति : २०७७ बैशाख ९, मंगलवार
  • nepaltale.com

पोखराबाट बागलुङ हुँदै रोल्पा हिँडेकी दुई महिनाकी सुत्केरीलाई बागलुङमा उद्धार गरेर क्वारेन्टाइनमा राखिएको छ । रोल्पाको सुनछहारी गाउँपालिका ५ स्थायी घर भई पोखरामा मजदूरी गर्दै आउनुभएका उहाँ आइतबार दुई महिनाको छोरा बोकी पैदल हिँडेर बागलुङ आइपुग्नुभएको हो ।

उहाँसँगै आएका सोही गाउँका अन्य ६ जनासहित उहाँलाई पनि पर्वत र बागलुङको सिमाना माल्ढुंगाबाट प्रहरीले उद्धार गरेर बागलुङ नगरपालिका–१ स्थित रामरेखा आधारभूत विद्यालयको क्वारेन्टाइनमा राखिएको छ । उहाँका श्रीमान् पनि सँगै हुनुहुन्छ । उहाँहरुलाई -यापिड डायग्नोष्टिक टेष्ट गरेर सवारी साधनको व्यवस्था गरी रोल्पा पठाउने तयारी भइहेको छ । उहाँलाई आइतबार साँझ र सोमबार दिउँसोसम्मको खानाको व्यवस्था बागलुङ नगरपालिकाले गरेको नगर प्रमुख जनकराज पौडेलले बताउनुभयो ।

पोखरामा घरबेटीले घरभाडा माग्न थालेको र दैनिक खर्च चलाउने उपाय नभएकाले हिँडेरै घर जान थालेको पीडित रवीना थकालीले बताउनुभयो । क्वारेन्टाइनमा बस्दा कुनै समस्या नभएको उहाँको भनाइ छ । बागलुङमा उहाँजस्तै ५२ मजदूरको आइतबार उद्धार गरिएको थियो । उहाँहरु सबैलाई रामरेखा क्वारेन्टाइन र शान्ति समितिको भवनमा बनाइएको आश्रयस्थलमा राखिएको छ । सबैलाई गन्तव्यमा पुग्ने गरी सवारी साधनको व्यवस्था गरेर पठाउने तयारी थालिएको नगर प्रमुख पौडेलले बताउनुभयो ।

पोखराका विभिन्न उद्योग तथा आयोजनामा काम गरिरहेका मजदूरहरु पैदल हिँडेर बागलुङ आइपुगेका हुन् । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा काम गर्ने काठमाडौँ र हेटौंँडाका मजदूरलाई पनि हिँड्दै गर्दा उद्धार गरिएको प्रहरी उपरीक्षक नवराज भट्टले बताउनुभयो । रोल्पा घर भएको बताउने १८ मजदूर पैदलै घर जान हिँडेको थाहा पाएपछि उद्धार गरिएको जिल्ला प्रहरी प्रमुख भट्टले बताउनुभयो ।

पोखरास्थित विभिन्न विकास आयोजनामा काम गरेका आफूहरुले काम पाउन छाडेपछि घर फर्केको उनीहरुले बताए । ‘घर बनाउने, जाली चिन्ने जस्ता काम गरेका थियाँैं, लकडाउनले काम पाउन छाडेपछि हिँडेका हौंँ’ रोल्पा, गंगादेवी गाउँपालिका –५ का राजेन्द्रकुमार पुनले भन्नुभयोे, ‘घरै गए खेती गरेर खाऔंँला ।’