काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले १५ असारदेखि दैनिक १० हजार जनाको कोरोना परीक्षण गरिने बताए पनि पछिल्लो एक सातामा परीक्षण दर भने खुम्चिँदै गएको छ ।

पछिल्लो एक सातामा औसत दैनिक पाँच हजार आठ सय नौ जनाको मात्रै कोरोना परीक्षण हुँदै आएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री ढकालले गत २६ जेठमा बसेको संसद् बैठकमा १५ असारदेखि दैनिक १० हजार जनाको कोरोना परीक्षण गरिने जानकारी दिएका थिए ।

निजी प्रयोगशालाले तीन हजार र बाँकी सरकारी ल्याबबाट गरी प्रतिदिन १० हजारको पिसिआर विधिमा परीक्षण गर्ने स्वास्थ्य मन्त्रालयको तयारी थियो । जनशक्ति व्यवस्थापन, ल्याबलाई २४ घण्टा सञ्चालन गर्ने र निजी क्षेत्रबाट परीक्षण गर्ने गरी तयारी अगाडि बढाइएको स्वास्थ्यमन्त्री ढकालले बताएका थिए । प्रतिप्रदेशबाट एक हजारका दरले र निजी क्षेत्रबाट तीन हजारका दरले प्रतिदिन परीक्षण हुने बताए पनि कार्यान्वयन भएन ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले आज (सोमबार)देखि दैनिक १० हजारको हाराहारीमा कोरोना परीक्षण गर्ने गरी तयारी भएको बताए । उनले भने, ‘दैनिक आठ हजार जनाको कोरोना परीक्षण गर्ने गरी क्षमता अभिवृद्धि भएको छ ।’ यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS

error: नेपाल टेलमा प्रकाशित समाचार अनुमतिबिना कहिँ कतै सम्प्रेषण गर्न मनाही छ !