काठमाडौं। आफूलाई वैकल्पिक शक्ति बताउँदै आइरहेको साझा पार्टीमा ठूलो भुइँचालो गएको छ । पार्टीका शीर्ष र महत्वपूर्ण नेता तथा प्रवक्ता सूर्यराज आचार्यलगायत केही शीर्ष नेताहरुले साझा पार्टी परित्याग गर्ने भएपछि साझा पार्टीमा पछिल्ला केही दिन यता पार्टीभित्रको समस्या चुलिएको हो ।
पार्टीका एक केन्द्रीय सदस्यले हामिलाई आचार्यलगायत अन्य एक दुईले पार्टी परित्याग गरेको घोषणा गरिसकेको दाबी गरेका छन् । पछिल्लो समय साझाका अन्य नेताहरुले पनि सामाजिक सन्जालमा यस्तै आशयका स्टाटसहरु लेखिरहेका छन् ।
उदाहरण हो, साझाका केन्द्रीय सदस्य केशव दाहाल । उनले यथास्थितिवादी र अहंकारी जस्ता शब्दहरु प्रयोग गरेर लेखेको ट्विट सूर्यराज आचार्य लक्षित भएको टिप्पणी धेरैको छ ।
तर, यस विषयमा आचार्य स्वयंले सार्वजनिक रुपमा केही पनि भनेका छैनन् । उनीसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।
अर्कोतिर, आचार्यले पार्टी नछोडे उनलाई कारवाही गर्ने तयारी साझाका केही नेताले गरेका छन् । ‘उहाँले पार्टी परित्याग गरे पनि नगरे पनि उहाँलाई पार्टीले कारवाही गर्ने निश्चित भइसकेको छ,’ पार्टीका एक केन्द्रीय सदस्यले भने, ‘यसबारे पार्टीमा छलफल भइरहेको छ ।’
विवेकशीलसँग एकताको प्रयास हुँदैछ ?
एकातिर साझा पार्टीमा प्रवक्ता सूर्यराज आचार्य, मुमाराम खनाललगायतले छोड्ने कुरा उठिरहेको छ भने अर्कोतिर साझा पार्टी र विवेकशील नेपाली दल एकतामा जान सक्ने सम्भावनाबारे पनि चर्चा चलेको छ । विवेकशील नेपाली दलका एक नेताले यी दुई पार्टीको विचार पनि मिल्ने र अहिले तत्काल एकता नगरे पनि कार्यगत एकता चाहिँ गरिनु पर्ने बताए ।
‘अहिले यी दुई पार्टीबीच एकताको विषयमा केही पनि कुराकानी भएको छैन तर दुई पार्टी एकता गरेर अगाडि बढ्न सके पक्कै राम्रो हुनेछ,’ उनले भने, ‘यस विषयमा हामी सधैं सकारात्मक नै छौँ तर अहिले नै पार्टी एकताको विषयमा हामीले छलफल पनि सुरु गरेका छैनौँ ।’
३ बजे निर्णायक छलफल
साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले पार्टी छोड्ने बताएमा के गर्ने वा उनले पार्टी परित्याग नगरे पनि कारवाही कुन ढंगको गर्ने भन्नेबारे साझा पार्टीले आज दिउँसो ३ बजे पार्टी कार्यालय बखुण्डोलमा बैठक बोलाएको छ ।
‘यो बैठकमा व्यापक रुपमा आचार्य र पार्टीका अन्य नेताबारे छलफल हुँदैछ,’ साझाका ती केन्द्रीय सदस्यले भने, ‘आज नै अब पार्टी कसरी अगाडि बढ्ने र छाड्न चाहने साथीहरुको हकमा के गर्ने भन्ने निश्चित हुँदैछ ।’
यो बैठकमा अन्य केन्द्रीय सदस्यहरुलाई पनि पार्टीमा अन्य जिम्मेवारी दिनेबारे छलफल हुने ती नेताको दाबी छ ।