शिक्षा सेवाका उपसचिवले २४ वर्षमा कमाए साढे ४ करोड रुपैयाँको अकूत सम्पत्ति

  • प्रकाशित मिति : २०७७ असार ३०, मंगलवार
  • nepaltale.com

काठमाडौं । बर्दियाको बाँसगढी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा कार्यरत (उपसचिव शिक्षा सेवा) मनप्रसाद रेग्मील साढे ४ करोड रुपैयाँ बराबरको अकूत सम्पत्ति आर्जन गरेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी ईकाइबाट आएको जानकारीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानका क्रममा उपसचिव रेग्मीले सरकारी सेवा प्रवेश गरेको करिब २४ वर्षको अवधिमा ४ करोड ५४ लाख ३३ हजार ६ सय ९८ रुपैयाँ बराबरको अकूत सम्पत्ति आर्जन गरेको देखिएको हो ।

रेग्मीको नाममा विभिन्नि बैंक तथा वित्तिय संस्थाहरुमा रहेका खातामा जम्मा तथा खर्च गरी १२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको देखिएपछि राष्ट्र बैंकले अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेको थियो ।

रेग्मी २२ कात्तिक २०५३ मा विद्यालय निरीक्षक (विनी)को रुपमा सरकारी सेवामा प्रवेश गरेका थिए । त्यसयता उनले (कर्जा बाहेक) आफ्नो तथा श्रीमती पम्फादेवी पाण्डेय र छोरी सन्ध्या रेग्मीको नाममा गरी ७ करोड ३१ लाख ४५ हजार २ सय ९० रुपैयाँ बराबरको सम्पत्ति आर्जन, खर्च र सञ्चिति गरेको देखिएको छ ।

यस अवधिमा उनले सरकारी सेवा रहँदा पाएको पारिश्रमिक, श्रीमतीको आम्दानी, पैतृक सम्पति र कृषि कार्यबाट भएको आम्दानी गरी जम्मा २ करोड ७७ लाख ११ हजार ५ सय ९२ रुपैयाँ मात्रै वैध रुपमा आर्जन गरेको देखिन्छ ।

जसअनुसार उनले ४ करोड ५४ लाख ३३ हजार ६ सय ९८ रुपैयाँ बराबरको सम्पत्ति अवैध रुपमा आर्जन गरेको प्रमाणित भएको अख्तियारको भनाइ छ ।

अख्तियारले सरकारी सेवामा रहँदा अकूत रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा रेग्मीविरुद्ध ४ करोड ५४ लाख ३३ हजार ६ सय ९८ रुपैयाँ बराबर बिगो कायम गर्दै बिगोअनुसार जरिवानाको सजाय मागदाबी गरेको छ । यस्तै, गैरकानून रुपमा आर्जिक सम्पत्ति जफतका साथै साविक भ्रष्टाचार निवारण ऐन २०१७ र प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम ८ वर्ष कैद सजाय पनि मागदाबी गरिएको छ ।

अख्तियारले सम्पत्ति जफत प्रयोजनार्थ रेग्मीकी श्रीमती पम्फादेवी पाण्डेय र छोरी सन्ध्या रेग्मीलाई समेत प्रतिवादी बनाएको छ ।