बुधबार थप ३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ।
विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण भएका नमुनामध्ये बुधबार ३ जनामा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो।
प्रवक्ता डा. देवकोटाका अनुसार वर्ष २४, ६० र ७२ का पुरुषहरुको नमुना पोजेटिभ देखिएको हो। क्वारेन्टाइनमा रहेका ती संक्रमित व्यक्तिहरुलाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेको उहाँले बताउनुभयो।
यसैगरी बुधबार २ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । सेती प्रादेशिक अस्पतालबाट २९ वर्षिय पुरुष १९ दिनपछि र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट ३२ वर्षिय पुरुष २९ औं दिनमा डिस्चार्ज भएका हुन्।
मंगलबार सेती प्रादेशिक अस्पतालबाट २९ दिनपछि एकजना डिस्चार्ज भएको प्रवक्ता देवकोटाले बताउनुभयो। बुधबारसम्म उपचारपछि निको भएर डिस्चार्ज हुनेहरुको संख्या ७ पुगेको छ।
अहिलेसम्म स्वाव नमुना संकलन (पिसिआर) र ¥यापिड डाइग्नोष्टिक विधिबा गरी ४० हजार बढीको नमुना परीक्षण भएको छ । अहिलेसम्म देशभरी ४० हजार बढी परीक्षण भएका छन्।
पिसिआर र ¥यापिड डाइग्नोष्टिक (आरडिटी) विधिबाट गरी ४० हजार ४ सय ३१ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ।
पिसिआर विधिबाट ९ हजार ११ र आरडिटी विधिबाट ३१ हजार ४ सय ३० नमुना परीक्षण भएका छन् । गत २४ घण्टामा ३ हजार ७ सय ३६ परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो ।
सबै जिल्लामा आरडिटी विधिबाट परीक्षण भइरहेको छ । प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म प्रदेश नम्बर १ मा ३ हजार ९७, प्रदेश नम्बर २ मा ३ हजार ९ सय २५ र बाग्मती प्रदेशमा ५ हजार ९ सय १५ परीक्षण भएका छन्।
यसैगरी गण्डकी प्रदेशमा ४ हजार २ सय ७२, प्रदेश नम्बर ५ मा २ हजार ५ सय ९६, कर्णाली प्रदेशमा ४ हजार ३ सय ८ र सुदुरपश्चिम प्रदेशमा ७ हजार ३ सय ७ वटा परीक्षण भएका छन्।
देशभरी ८हजार ५ सय ९५ जना क्वारेन्टाइनमा रहेका छन्। उपत्यकामा ३ र उपत्यका बाहिर ९२ जनासहित देशभरी ९५ जना आइसोलेसनमा रहेका छन्। आज सेती अस्पतालमा उपचाररत ४० वर्षीय पुरुष र टेकु अस्पतालमा उपचाररत ३२ वर्षीय पुरुष डिस्चार्ज हुने मन्त्रालयले जनाएको हो ।