चारवटै युनियनको कान्तिपुरलाई चेतावनी : वार्ता सफल नभए आन्दोलन चर्कन्छ

  • प्रकाशित मिति : २०८० श्रावण १६, मंगलवार
  • नेपाल टेल संवाददाता

राष्ट्रिय ट्रेड युनियनले कान्तिपुर पब्लिकेसन्ससँग जारी वार्ता सफल नभए आन्दोलन चर्काउने चेतावनी दिएको छ । मंगलबार पीडित श्रमिकहरूलाई सुरुदेखि नै साथ दिइरहेका चार समूहको संयुक्त मोर्चा राष्ट्रिय ट्रेड युनियनले एक विज्ञप्ति जारी गर्दै वार्ता सफल भए आन्दोलन फिर्ता हुने नत्र अझ घनीभूत रूपमा आन्दोलन चर्किने चेतावनी दिएको हो ।

आन्दोलनरत श्रमजीवीहरूको संयुक्त मोर्चा कान्तिपुर संघर्ष समितिले राखेका ७ बुँदे माग अविलम्ब पूरा गर्न युनियनले कान्तिपुरसँग जोडदार माग गरेको छ । गत आइतबार राति आन्दोलनरत र व्यवस्थापन पक्षबीच निष्कासितहरूलाई पुनर्बहाली गर्ने, गैरकानुनी सरुवा र निलम्बन खारेज गर्ने, स्पष्टीकरण फिर्ता लिन सहमति भएको र वार्ताका लागि वातावरण भएको युनियनले जनाएको छ ।



कान्तिपुर व्यवस्थापन पक्षले पीडितका ७ बुँदामा सम्मिलित कानुनी मुद्दाहरू लागू गर्ने प्रतिबद्धता जनाएकोमा धन्यवाद दिँदै युनियनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत असार ३१ गते लेखेको पत्र कार्यान्वयन गराउन पनि स्मरण गराएको छ ।

‘हामीले श्रमजीवी पत्रकार ऐन र सर्वोच्च अदालतको फैसला कार्यान्वयनका लागि हाल भइरहेको आन्दोलनकै अर्को चरणका रूपमा वार्तालाई लिएका छौँ । श्रमजीवीहरूलाई वार्तामा अल्मल्याउने, झुक्याउने कुचेष्टा कदापि नहोस्,’ विज्ञप्तिमा भनिएको छ, ‘पूर्ववत् सहमतिअनुरूप कानुन कार्यान्वयन र फैसला लागू गर्ने प्रक्रिया पनि तत्काल थाल्न व्यवस्थापनको गम्भीर ध्यानाकर्षण गर्दछौँ ।’

सहमतिअनुरूप कान्तिपुरले सात दिनभित्र श्रमिकहरूको माग पूरा नगरे आफूहरू तेस्रो चरणका संघर्षका कार्यक्रम लिएर जान बाध्य हुने उसले बताएको छ ।

तलब रोक्ने, ढिला हाल्ने, अपूरो तलब दिने, राजीनामाका लागि दबाब दिने, सरुवा गर्ने, पत्रकार तथा कर्मचारीलाई मानसिक यातना दिने, जागिर छाड्न बाध्य पार्नेलगायत ७ बुँदे मागसहित कान्तिपुरको गैरकानुनी प्रवृत्तिविरुद्ध श्रमिकहरू दुई सातादेखि आन्दोलनमा छन् ।

पीडितहरूले आन्दोलनलाई थप सशक्त बनाउन काठमाडौँ उपत्यकालगायत देशभर कान्तिपुर र पत्रिका वितरणसमेत ठप्प पारेका थिए । तर, आइतबार राति आन्दोलनरत पक्ष र कान्तिपुर व्यवस्थापनबीच सहमति जुटेको छ । सहमतिअनुसार श्रमिकहरूले पत्रिका वितरणमा अवरोध नगर्ने र कान्तिपुरले श्रमिकहरूको ७ बुँदे माग छिटो सम्बोधन गर्ने भएको छ ।

श्रमिक र व्यवस्थापनबीच मंगलबार पनि वार्ता भइरहेको छ ।

श्रमजीवी पत्रकार​ संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीले यसपाली कान्तिपुरलाई श्रमिकहरूका जायज माग पूरा गराएर छाड्ने बताएका छन् । आफूहरूको आन्दोलन जारी रहेको उनको भनाइ छ । ‘वार्ता सफल भए आन्दोलन फिर्ता हुन्छ, नत्र हाम्रो आन्दोलन अझ घनीभूत रूपमा चर्किन्छ,’ उनले भने ।

कान्तिपुरले धोका दिए फेरि आफूहरूले कान्तिपुरका प्रबन्ध निर्देशक तथा अध्यक्ष कैलाश सिरोहियाको घर घेराउदेखि पत्रिका वितरण ठप्पलगायत निर्णायक विद्रोहस्वरूप थप आन्दोलनका कार्यक्रम गर्ने जैसीले चेतावनी दिए ।