गैर आवासीय नेपाली संघ एनआरएनए आईसीसीको ११ औँ महाधिवेशनका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष रविना थापाले सोमबार उम्मेदवारी दर्ता गरेकी छिन् । उनलाई अध्यक्ष पदकै उम्मेदवारीको चर्चामा रहेका बेलायतका विनय अधिकारीले प्रस्तावक रहेर समर्थन गरेका छन् ।
उम्मेदवारी दर्तापछि रविना थापाले आफूले छोटो कार्यकालमा धेरै राम्रो कामकाे सुरुवात गरेको बताउँदै एक पूर्ण कार्यकाल काम गरेर एनआरएनएलाई नयाँ उचाइ दिन चाहेको बताइन् । उनले काम गरेर देखाएकाले सबैको समर्थनमा आफू विजयी हुने दाबी गरिन् । विदेशमा बस्ने सबै नेपालीको अवस्था एउटै नभएको बताउँदै थापाले विदेशको श्रम बजारमा दुःख पाएका नेपाली, विद्यार्थीदेखि बलियो आर्थिक र सामाजिक हैसियत बनाएका नेपालीहरूको भावनाको प्रतिनिधित्व आफूले गर्नसक्ने बताइन् ।
वर्तमान उपमहासचिव विनय अधिकारीले एनआरएनएलाई चरम राजनीतिक हस्तक्षेपबाट जोगाउन आफूले अध्यक्ष पदको उम्मेदवारी छोडेर रविना थापालाई समर्थन गरेको बताए । आपसी विवाद र गुटबन्दीले संघको छवि धुमिलिएको बताउँदै अधिकारीले सहमति, सहकार्य र एकता नै अब को आवश्यकता औँल्याउँदै त्यसका लागि रविना थापा एक मात्र विकल्प रहेको दाबी गरे । अर्का प्रस्तावकमा विष्णु बानिया जापानमा रहेका छन् ।
यसैगरी समर्थकमा गगन गुरुङ, अमेरिका र सुरेश कोइराला अमेरिका रहेका छन् । रविना हाल अध्यक्ष हुन् । उनले ६ महिना कार्यकारी अध्यक्ष रहँदा घुम्ती रक्तसञ्चार बस (मोबाइल ब्लड बस ) को सुरुवात भएको थियो । हाल २ प्रदेशमा हस्तान्तरणको चरणमा छ ।