समानुपातिकमा भाग लिने दललाई निर्वाचन चिन्ह प्रदान

  • प्रकाशित मिति : २०८२ मंसिर २७, शनिबार
  • नेपाल टेल संवाददाता

आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ सहभागी हुन चाहने दलहरूलाई निर्वाचन आयोगले निर्वाचन चिन्ह वितरण गरिएको छ। मंसिर २१ देखि २३ गतेसम्मको तीनदिने समयसीमाभित्र निवेदन दिएका दलमध्ये अन्तिम रूपमा कायम १०० दललाई विभिन्न ९३ वटा निर्वाचन चिन्ह प्रदान गरिएको आयोगले जनाएको छ।

समानुपातिक निर्वाचन प्रणालीका सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईका अनुसार १०० दलले निवेदन दिए पनि केही दलहरूले एउटै चिन्हमा भाग लिने गरी निवेदन दिएकाले ९३ वटा मात्रै निर्वाचन चिन्ह वितरण गरिएको हो।



भट्टराईका अनुसार निवेदन दिने १०० दलमध्ये ११ दललाई भने २०७९ को प्रतिनिधि सभा समानुपातिक चुनावमा प्राप्त मत संख्या अनुसार क्रमसंख्या र चिन्ह तोकिएको छ।

तीमध्ये पहिलो नम्बरमा नेकपा (एमाले)को सूर्य, दोस्रोमा नेपाली काँग्रेसको रुख, तेस्रोमा नेकपाको पाँचकुने तारा, चौथोमा राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी र पाँचौँमा राप्रपाको हलो परेका छन्।

यस्तै छैटौँमा जसपाको ढल्केको छाता, सातौँमा जनमत पार्टीको लाउड स्पिकर, आठौँमा नागरिक उन्मुक्ति पार्टीको पिँध भएको सादा ढकिया, नवौँमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को साइकल, दशौँमा नेमकिपाको मादल र एघारौँमा राष्ट्रिय जनमोर्चाको गिलास परेको छ।

यी ११ दलपछि अन्य दललाई भने निवेदन दर्ताको क्रमअनुसार क्रमसंख्या र चिन्ह प्रदान गरिएको आयोगले जनाएको छ। यसअनुसार मतपत्रको १२ औँ नम्बरमा देश विकास पार्टीको लौरो र १३ औँ नम्बरमा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को खुलेको एकल आँखा तोकिएको छ।