लन्डन । बेलायतस्थित नेपाली डायस्पोराको ठूलो संस्थामध्ये एक तमुधिं यूकेको नेतृत्व हाल अध्यक्ष जुमकाजी गुरुङले सम्हालिरहेका छन्। ब्रिटिश सेनामा १८ वर्ष सेवा गरेर अवकाश पाएपछि उनी सामाजिक तथा परोपकारी कार्यमा सक्रिय भएका हुन्।
उनको नेतृत्वको पहिलो वर्षमै संस्थाका दुई मुख्य कार्यक्रम गोर्खा कप र नेपाली मेला उल्लेखनीय रूपमा सफल भएका छन्। पछिल्लो नेपाली मेलामा करिब १३ हजार दर्शक सहभागी भएको आयोजकको भनाइ छ, जुन १६ वर्षको इतिहासमै सबैभन्दा ठूलो सहभागिता हो।
गुरुङको कार्यकालमा पहिलोपटक बेलायतका लागि नेपाली राजदूत चन्द्र घिमिरेलाई गोर्खा कपको प्रमुख अतिथि बनाइएको थियो। कार्यक्रममा चर्चित महिला फुटबल खेलाडी साम्बा, मनोज गजुरेल, तारा सिरिस, मेलिना राई र उज्यालो नेपालका संस्थापक कुलमान घिसिङ लगायत व्यक्तित्वहरू पनि सहभागी भएका थिए।
तमुधिं यूकेले नेपालमा परोपकारी कार्यमा पनि सहयोग गर्दै आएको छ। अध्यक्ष गुरुङले बाँकी कार्यकालमा संस्थाको भवन नवीकरण गर्ने र युवा संगठन गठन गर्ने योजना रहेको बताएका छन्।