बर्डफ्लु संक्रमित कुखुरा बिक्री गरे कडा कारबाही हुने

  • प्रकाशित मिति : २०८३ असार १९, शुक्रबार
  • नेपाल टेल संवाददाता

पशुसेवा विभागले बर्डफ्लु संक्रमित कुखुरा, हाँस, बट्टाइलगायत पन्छी बिक्रीवितरण गरे कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ। सङ्क्रमित पन्छी बजारमा बिक्री गरेको पाइएमा कानुनबमोजिम कडा कारबाही गरिने विभागका प्रवक्ता मुकुल उपाध्यायले बताए ।

विभागका अनुसार गत चैतदेखि ११ जिल्लामा बर्डफ्लु पुष्टि भइसकेको छ। रोगको सङ्क्रमण नियन्त्रण गर्न प्राविधिकको टोली सङ्क्रमित क्षेत्र काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा सक्रिय रहेको बताउँदै उनले रोग अन्यत्र फैलिन नदिन उच्च सतर्कता अपनाइएको छ ।



संक्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रमा ‘र्यापिड रेस्पोन्स टिम’ परिचालन गरिएको छ भने हालसम्म करिब ७ लाख पन्छी, ११ लाख अण्डा र ३ लाख किलो दाना नष्ट गरिएको छ।

विभागले मरेका वा संक्रमित पन्छी जथाभावी नफाल्न र रोग फैलिन नदिन उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ। साथै, प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया पनि अघि बढाइएको जनाएको छ।