देशका ११ जिल्लाका १०० स्थानमा बर्डफ्लु, मन्त्रालयद्वारा सतर्कता अपनाउन आग्रह

  • प्रकाशित मिति : २०८३ असार २०, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौँ उपत्यकासहित देशका ११ जिल्लाका १०० स्थानमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बर्डफ्लु फैलिएको क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गर्दै सङ्क्रमित, बिरामी वा मरेका पन्छीसँग प्रत्यक्ष सम्पर्क नगर्न अनुरोध गरेका छन् ।



उनले पन्छीको मासु र अण्डा राम्रोसँग पकाएर मात्र उपभोग गर्न तथा मरेका पन्छी देखिएमा नजिकको पशु सेवा निकायमा तत्काल जानकारी गराउन आग्रह गरे । पशु सेवा विभागका अनुसार हालसम्म ११ जिल्लाका १०० स्थानमा बर्डफ्लु सङ्क्रमण देखिएको छ ।

डा. अधिकारीका अनुसार बर्डफ्लु पन्छीमा लाग्ने इन्फ्लुएन्जा भाइरसबाट हुने सङ्क्रामक रोग हो । सङ्क्रमित पन्छीसँग प्रत्यक्ष सम्पर्कमा आएका मानिसमा पनि कहिलेकाहीँ सङ्क्रमण सर्न सक्ने भए पनि व्यक्ति–व्यक्तिबीच भने यो रोग सहज रूपमा सर्दैन ।

स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमित पन्छीलाई छुँदा वा समात्दा, पन्छीको दिसा वा सिगानसँग सम्पर्क हुँदा, पन्छी राखिएको स्थान सफा गर्दा तथा सङ्क्रमित पन्छीको मासु सेवन गर्दा मानिसमा बर्डफ्लु सर्न सक्छ ।

मानिसमा बर्डफ्लु सङ्क्रमण भए ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, श्वासप्रश्वासमा समस्या हुने, शरीर तथा मांसपेशी दुख्ने, अत्यधिक थकान महसुस हुने, वाकवाकी लाग्ने, बान्ता हुने वा पखाला लाग्ने जस्ता लक्षण देखिन सक्ने मन्त्रालयले जनाएको छ।