विभाजनको डिलमा कांग्रेस- गगनले अस्वीकार गरे यी दुई प्रस्ताव

  • प्रकाशित मिति : २०८३ असार २३, मंगलवार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसको संस्थापन पक्षले १४ औँ महाधिवेशनबाट निर्वाचित १११ केन्द्रीय समिति सदस्यलाई अहिलेको समितिमा समेट्ने र सदस्यता अद्यावधिक नगर्नेलाई स्वीकार्न नसक्ने स्पष्ट सन्देश दिएको छ।

आज चुनदेवीमा बसेको इतर पक्षको बैठकले संस्थापन पक्षले सहमतिको लागि इच्छाशक्ति नदेखाएको आरोप छ। राष्ट्रिय भेलाबारेमा कुरा भइरहेको भन्दै भोलिको बैठकबाट मिति र मोडालिटी तय गर्नेसक्ने नेता मीन विश्वकर्माले बताए। उनका अनुसार अहिलेकै अवस्थामा एकता महाधिवेशन हुने सम्भावना कमजोर छ।



सहमति नभए १५ औँ महाधिवेशन आफ्नै ढङ्गले गर्नेगरी उनीहरूको रणनीति छ। पार्टी मिलाउनको लागि विभिन्न विकल्पमा वार्ताको लागि तयार रहेको बताएका छन्।

उनीहरूले बाहिर रहेको नेताहरूलाई व्यवस्थापनको विषयलाई चासो राखेका छन्। तर पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काको ७ बुँदे प्रस्तावमध्ये यी दुई वटा स्वीकार्न नसकिने सभापति गगन थापाको स्पष्ट सन्देश छ। यद्यपि, डा. शेखर कोइरालाले यसको विकल्प खोज्न सकिने मध्यमार्गी प्रस्ताव राखेको बताइन्छ। केन्द्रीय समितिमा राख्न नसक्नेहरूलाई छुट्टै संयन्त्र बनाएर जान सकिने उनको भनाइ छ।

इतर पक्षको यी दुईबाहेक अरू प्रस्तावमा छलफल गर्न आफू तयार रहेको सभापति थापाले बताए। विदेशस्थित सङ्गठन जनसम्पर्क समिति जापानको अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै १५ औँ महाधिवेशनको मितिमा पनि आफू छलफल गर्न तयार रहेको बताए।

उनले भने, ‘केही साथीहरू असन्तुष्ट हुनुहुन्छ, बाहिर हुनुहुन्छ। मैले उहाँहरूलाई पटक–पटक भनेको छु, अहिले पनि भनिरहेको छु। १५ औँ महाधिवेशन सफल बनाउन के–के गर्नुपर्ने हो, म ती सबै कुराहरू गर्न तयार छु। महाधिवेशनको तिथि–मितिमा छलफल गर्न तयार छु।’

उनले पार्टीको सदस्यता छानबिन समिति बनाउने, निर्वाचन समिति, अनुशासन समितिबारे पनि छलफल गर्न तयार रहेको बताए।

उनले थपे, ‘अनावश्यक कसैलाई अनुशासनको डन्डा प्रहार गरेर तल–माथि गर्ला कि भन्ने डर छ। अनुशासन समितिमा के गर्ने, त्यो गर्न तयार छु। महाधिवेशनको व्यवस्थापन समिति बनाउने, व्यवस्थापन समितिमा को–को नेताहरू राख्ने, त्यसको लागि पनि म तयार छु। यी सबै कुरा गर्न तयार छु। तर दुइटा कुरा विधानले दिँदैन, त्यो कुरा मैले चाहेर पनि मैले गर्न सक्दिनँ।’

क्रियाशील सदस्यता नवीकरण नगरीकन चलाउने भन्ने कुरा विधानको खिलाफमा हुने बताए।

उनले भने, ‘अव्यवहारिक पनि हुन्छ, अराजनीतिक पनि हुन्छ। त्यो कुराको कुनै पार्टीभित्र जोकोहीको विषय छैन। त्यसलाई अनावश्यक इगोको विषय नबनाऔँ। यो सम्भव पनि छैन, त्यसको पछि लाग्ने काम कसैको छैन।’

उनले विशेष महाधिवेशनबाट केन्द्रीय समिति बनिसकेको अडान राखे।

उनले थपे, ‘यो केन्द्रीय समिति सबैको केन्द्रीय समिति हो। यसभित्र मनोनयन गर्ने पार्टी सभापतिले पाएको अधिकार छ, त्यसलाई मैले प्रयोग गरेर बढीभन्दा बढी साथीहरूलाई सहभागी गराउने कुरा मेरो जिम्मेवारीको कुरा हो, म गरिहाल्छु। तर यो अघिल्लो केन्द्रीय समितिको एक सय कति जना बाँकी हुनुहुन्छ, त्यो सबै साथीहरूलाई लिएर यसमा मिसिनुपर्छ भन्ने कुरा विधानले दिँदैन।’

उनले बाहिर रहेकालाई केन्द्रीय समितिमा समेट्ने कुरा व्यवहारिक र आवश्यक नभएको पनि बताए। उनले विधानभित्र रहेर महाधिवेशनलाई निष्पक्ष गराउने जिम्मेवारी आफ्नो भएको र त्यसका लागि तयार रहेको समेत बताए।