लन्डन- बेलायतको सत्तारूढ लेबर पार्टीका नेता एन्डी बर्नहामले प्रधानमन्त्री पदका लागि भएको पहिलो मनोनयन गणनामा ३ सय २२ जना लेबर सांसदको समर्थन प्राप्त गरेका छन्। यससँगै उनी बेलायतको नयाँ प्रधानमन्त्री बन्ने दौडमा निकै बलियो उम्मेदवारका रूपमा उभिएका छन्।
प्रारम्भिक मनोनयन परिणामले लेबर पार्टीभित्र बर्नहामप्रति उल्लेखनीय एकता देखिएको विश्लेषण गरिएको छ । पार्टीका अधिकांश सांसदले उनको पक्षमा खुलेर समर्थन जनाएपछि नेतृत्व परिवर्तनको सम्भावना थप बलियो बनेको हो। राजनीतिक विश्लेषकहरूका अनुसार यति ठूलो संख्यामा सांसदको समर्थन प्राप्त हुनु कुनै पनि नेताका लागि निकै महत्वपूर्ण उपलब्धि मानिन्छ।
बर्नहामले पछिल्ला वर्षहरूमा सार्वजनिक स्वास्थ्य सेवा सुधार, जीवनयापनको बढ्दो लागत नियन्त्रण, रोजगारी सिर्जना, स्थानीय सरकारको अधिकार विस्तार तथा आर्थिक समानतालाई आफ्नो प्रमुख एजेन्डा बनाउँदै आएका छन् । पार्टीभित्र पनि उनी व्यवहारिक र अनुभवी नेताका रूपमा चिनिन्छन्।
यदि आगामी औपचारिक प्रक्रियामा पनि यही समर्थन कायम रह्यो भने बर्नहाम बेलायतको नयाँ प्रधानमन्त्री बन्नेछन् । त्यसपछि उनले नयाँ मन्त्रिपरिषद् गठन गर्दै सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।
नयाँ नेतृत्वसँगै बेलायतले अहिले सामना गरिरहेको आर्थिक सुस्तता, मुद्रास्फीति, स्वास्थ्य सेवा सुधार, आवास संकट तथा अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा नयाँ रणनीति आउने अपेक्षा गरिएको छ । विशेषगरी युरोपसँगको सम्बन्ध, व्यापार विस्तार र सार्वजनिक सेवाको गुणस्तर सुधार नयाँ सरकारका प्रमुख चुनौती हुने विश्लेषकहरूको भनाइ छ ।
पहिलो मनोनयन परिणाम सार्वजनिक भएसँगै बेलायती राजनीतिमा नयाँ बहस सुरू भएको छ । समर्थकहरूले बर्नहामको नेतृत्वले स्थायित्व र नयाँ दिशा दिने विश्वास व्यक्त गरेका छन् भने विपक्षीहरूले भने उनको नेतृत्वको वास्तविक परीक्षा सरकार गठनपछि मात्रै सुरू हुने बताएका छन् ।
हालका लागि ३ सय २२ सांसदको समर्थनले बर्नहामलाई प्रधानमन्त्री बन्ने दौडमा स्पष्ट अग्रता दिलाएको छ । अब सबैको ध्यान अन्तिम प्रक्रियातर्फ केन्द्रित भएको छ, जहाँ उनको नेतृत्व औपचारिक रूपमा टुंगिने अपेक्षा गरिएको छ।
उनीसँग नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रने उम्मेदवारहरूले आगामी बुधबारसम्म लेबर पार्टीका कम्तीमा ८१ सांसदको समर्थन जुटाउनुपर्नेछ । अन्य कुनै उम्मेदवारले प्रतिस्पर्धामा उत्रिन आवश्यक ८१ सांसदको समर्थन जुटाउन नसक्ने अवस्था सिर्जना भयो भने बर्नहामले अर्को साता पार्टीसँग आबद्ध ३१ समाजवादी संस्था तथा ट्रेड युनियनमध्ये कम्तीमा ३ वटाको नामांकन पनि प्राप्त गर्नुपर्नेछ । यद्यपि, यो प्रक्रिया उनका लागि औपचारिकतामात्र हुने अपेक्षा गरिएको छ।
त्यसपछि बर्नहाम लेबर पार्टीको नेता बन्नेछन् र पार्टीका सदस्य तथा सम्बद्ध ट्रेड युनियन समर्थकहरूबीच अगष्टका लागि तय भएको मतदानबिना नै सिधै टेन डाउनिङ स्ट्रिट पुग्नेछन्। प्रतिस्पर्धीहरूको सामना गर्नुपरेन भने बर्नहमले प्रधानमन्त्री नियुक्त हुन आगामी जुलाई २० मा राजा चार्ल्स तृतीयसँग औपचारिक भेट गर्ने अपेक्षा गरिएको छ।