जुड बेलिङहमले अतिरिक्त समयमा दुई गोल गर्दै इङ्ल्यान्डलाई फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुर्याएका छन्।
मियामीमा भएको रोमाञ्चक क्वाटरफाइनलमा इङ्ल्यान्डले नर्वेलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्यो।
विश्वकप इतिहासमै पहिलो पटक क्वाटरफाइनल पुगेको नर्वेले खेलको सुरुआतमै अग्रता लिएको थियो। आन्द्रियास शेल्देरुपले गोल गर्दै नर्वेलाई अप्रत्याशित अग्रता दिलाएका थिए।
३० डिग्री सेल्सियसभन्दा बढी तापक्रम र अत्यधिक आर्द्रताबीच खेलिएको प्रतिस्पर्धामा दुवै टोलीका खेलाडी थकित देखिएका थिए।
खेलको सुरुवातमा नर्वेले दबाब बनाउँदै गोलकिपर जोर्डन पिकफोर्डलाई उत्कृष्ट बचाउ गर्न बाध्य बनायो। मार्टिन ओडेगार्डको प्रहार पिकफोर्डले रोके भने अलेक्जान्डर सोर्लोथले एर्लिङ हालान्डलाई पास दिनुको सट्टा आफैं प्रहार गर्दा सुनौलो अवसर खेर गयो।
त्यसपछि बेलिङहमले इंग्ल्यान्डलाई खेलमा फर्काए। एन्थोनी गोर्डनको पास नियन्त्रण गर्दै उनी तीव्र गतिमा पेनाल्टी क्षेत्रभित्र प्रवेश गरे र बायाँ खुट्टाबाट उत्कृष्ट गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए।
यसपछि इङ्ल्यान्डले थप दबाब सिर्जना गर्यो। बेलिङहमकै पासमा ह्यारी केनले गोल गरे पनि अफसाइड ठहरिएपछि त्यो गोल मान्यता पाएन।
दोस्रो हाफमा इङ्ल्यान्ड प्रशिक्षक थोमस टुकेलले नोनी माडुके र डेक्लन राइसको स्थानमा बुकायो साका र एबेरेची एजेलाई मैदानमा उतारे। राइस यसअघि बिरामी परेका कारण पूर्ण लयमा थिएनन्।
दोस्रो हाफमा नर्वेले पुनः अग्रता लिने अवसर बनायो। टोरब्योर्न हेग्गेमले कर्नरबाट आएको बल जाली चुमाए पनि एर्लिङ हालान्डले इलियट एन्डरसनलाई धक्का दिएको भन्दै भीएआरको सहायताले गोल रद्द गरियो।
त्यसको केहीबेरपछि क्रिस्टोफर आजेरको शक्तिशाली प्रहार क्रसबारमा लागेर फर्किँदा नर्वे विजयी गोल गर्नबाट निकै नजिक पुगेको थियो।
निर्धारित ९० मिनेटमा बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा नर्वेका गोलकिपर ओर्यान न्युलान्डले मोर्गन रोजर्सको टाढाबाट आएको प्रहार समात्न नसक्दा रिबाउन्डमा बेलिङहमले गोल गर्दै इंग्ल्यान्डलाई २–१ को अग्रता दिलाए।
त्यसपछि इंग्ल्यान्डले पेनाल्टी पनि पाएको थियो। तर भीएआरले जेड स्पेन्सले नै सम्पर्क सुरु गरेको निष्कर्ष निकाल्दै पेनाल्टी निर्णय उल्ट्यायो।
खेलको अन्त्यतिर नर्वेका खेलाडी पूर्ण रूपमा थाकेका देखिए। बेन्चमा बसेका एर्लिङ हालान्ड पनि निराश मुद्रामा देखिएका थिए र नर्वेको ऐतिहासिक विश्वकप यात्रा क्वाटरफाइनलमै टुंगियो।
इङ्ल्यान्डले अब सेमिफाइनलमा अर्जेन्टिना र स्विट्जरल्यान्डबीचको विजेतासँग खेल्नेछ।