गणेश नेपालीको परिवारसँग सरकारको ९ बुँदे सहमति, छानबिन समिति गठनदेखि राहत र रोजगारीसम्मको प्रतिबद्धता

  • प्रकाशित मिति : २०८३ असार २८, आईतवार
  • नेपाल टेल संवाददाता

वीर अस्पतालको बर्न युनिटमा उपचारका क्रममा मृत्यु भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको घटनापछि नेपाल सरकार, काठमाडौं महानगरपालिका र पीडित परिवारबीच ९ बुँदे सहमति भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको सहमतिअनुसार घटनाको सत्यतथ्य छानबिन गर्न पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गरिनेछ।



समितिले गठन भएको सात दिनभित्र सरकारलाई प्रतिवेदन बुझाउनेछ।

सहमतिअनुसार गणेश नेपालीलाई सहिद घोषणा गर्ने विषय छानबिन समितिको प्रतिवेदन र प्रचलित कानुनका आधारमा सरकारले आवश्यक निर्णय प्रक्रिया अघि बढाउनेछ। घटना भएको दिन फिल्डमा खटिएका काठमाडौं महानगर प्रहरीका कर्मचारीलाई तत्काल निलम्बन गरी छानबिन प्रतिवेदनअनुसार थप कारबाही गरिनेछ।

यस्तै, मृतककी श्रीमतीलाई काठमाडौं महानगरपालिकाले योग्यता र क्षमताका आधारमा रोजगारी उपलब्ध गराउने तथा छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च महानगरले व्यहोर्ने सहमति भएको छ। मृतकको आश्रित परिवारलाई राहतस्वरूप उचित आर्थिक सहयोग उपलब्ध गराइने पनि सहमतिमा उल्लेख छ।

त्यसैगरी, मृतकको अन्त्येष्टि, काजकिरिया, आफन्तको यातायात तथा काठमाडौं बसाइँका आवश्यक खर्चको व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्नेछ। पीडित परिवारका एक सदस्यको स्वास्थ्य बीमाको व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत गरिने सहमतिमा उल्लेख छ।

साथै, शव बुझ्ने, पोस्टमार्टमलगायतका कानुनी प्रक्रिया सहजीकरण गर्ने तथा घटनाको निष्पक्ष अनुसन्धानका लागि आवश्यक समन्वय गर्ने जिम्मेवारी पनि सम्बन्धित निकायले लिने सहमति भएको छ।