कास्कीको मोदी खोलामा आइतबारआएको बाढीले नयाँपुल–विरेठाँटी–घान्द्रुक सडक बगाएपछि घान्द्रुक पुगेका पर्यटक अलपत्र परेका छन्।
अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आएको बाढीका कारण मोदी खोलाले स्याउलीबजार नजिकको सडक बगाउँदा घान्द्रुकसँगको सडक सम्पर्क विच्छेद भएको हो। पैदल यात्रा सञ्चालनमा रहे पनि सवारीसाधन आवतजावत पूर्ण रूपमा बन्द भएको छ।
घान्द्रुक पर्यटन व्यवसायी समितिका कोषाध्यक्ष कृष्ण गुरुङले तीन दिन बिदा मनाउने सिलसिलामा घान्द्रुक पुगेका ३०० जना पर्यटक अहिले सडक बगाएपछि त्यहाँ रोकिनु परेको जानकारी दिए ।
स्थानीय तहले मोटरसाइकल तथा साना सवारीका लागि वैकल्पिक कच्ची सडक मर्मत गरिरहेको जनाएको छ। प्रशासन र प्राविधिक टोलीले सडक एकतर्फी सञ्चालन गर्न सकिने सम्भावनाबारे पनि अध्ययन गरिरहेका छन्।