अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता

  • प्रकाशित मिति : २०८३ असार ३१, बुधबार
  • नेपाल टेल संवाददाता

विश्वकप फुटबल अन्तर्गत अर्जेन्टिना र इंग्ल्याण्डबिच हुन गइरहेको सेमिफाइनल खेललाई ध्यानमा राख्दै अमेरिकाको एट्लान्टामा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।

यी दुई देशबिचको ऐतिहासिक शत्रुता र तनावपूर्ण पृष्ठभूमिका कारण यस खेललाई उच्च जोखिमयुक्त श्रेणीमा राखेर हेरिएको छ ।



एट्लान्टा प्रहरी विभागले बुधबार एक जानकारी दिँदै निरन्तरको सुरक्षा मूल्याङ्कनका आधारमा सम्भावित जोखिम रोक्न अतिरिक्त सुरक्षाकर्मी र पूर्वसतर्कताका उपायहरू अपनाइएको जनाएको छ । सामान्यतया एनएफएल र मेजर लिग सकरका खेलहरू हुने एट्लान्टाको मुख्य सहरस्थित यस रङ्गशालामा हुन लागेको खेललाई लिएर अधिकारीहरूले कुनै कसर बाँकी राखेका छैनन् ।

खेलको पूर्वसन्ध्यामा सानातिना उच्छृङ्खल गतिविधिका केही छिटपुट घटना सार्वजनिक भए पनि बुधबार बिहानको वातावरण भने शान्त देखिएको छ । खेलको प्रतिक्षामा रहेका समर्थकहरू रङ्गशाला बाहिरका क्याफे तथा बारहरूमा जम्मा हुने वा तास खेलेर समय बिताउने गरिरहेका छन् ।

जारी विश्वकपको सुरुवाती चरणमा मेक्सिकोमा समर्थकहरूले खुसीयाली मनाउने क्रममा भागदौड मच्चिँदा केही मानिसको ज्यान गएको थियो । यद्यपि, सन् १९८० र १९९० को दशकका केही खेलहरूलाई प्रभावित बनाएको जस्तो उग्र हिंसात्मक गतिविधिबाट भने यो विश्वकप अहिलेसम्म धेरै हदसम्म मुक्त नै देखिएको छ ।

तर पनि सुरक्षा निकायले यस खेलमा कुनै जोखिम मोल्न चाहेको छैन । यसैकारण चालु प्रतियोगितामा पहिलो पटक दुवै देशका प्रतिद्वन्द्वी समर्थकहरूलाई रङ्गशालाभित्र प्रवेश गर्नका लागि छुट्टाछुट्टै मार्ग र प्रवेशद्वारको व्यवस्था गरिएको छ ।

अर्जेन्टिना र इंग्ल्याण्डबिचको कटुता दशकौँ पुरानो हो, जुन फुटबल मैदानका विवाद र भूराजनीतिक तनाव दुवैसँग जोडिएको छ । विशेष गरी सन् १९८२ मा दक्षिण एटलान्टिकमा अवस्थित फकल्यान्ड टापु ९माल्भिनास० र साउथ जर्जियालाई लिएर दुई देशबिच भएको सैन्य द्वन्द्वपछि यो सत्रुता अझ बढेको हो ।

यसै विषयलाई लक्षित गर्दै अर्जेन्टिनाका सुरक्षा मन्त्रीले ती टापुहरूमा अर्जेन्टिनाको सार्वभौमसत्ता दाबी गर्ने खालका कुनै पनि झण्डा वा ब्यानर समर्थकहरूले रङ्गशालाभित्र लैजान नपाउने बताएका छन् । फिफाको नियम अनुसार रङ्गशालाभित्र राजनीतिक अभिव्यक्ति झल्किने सामग्रीहरू लैजान प्रतिबन्ध छ ।

यद्यपि, यसअघि लस एन्जलसमा भएको खेलका क्रममा इरानी अमेरिकीहरूले तेहरान सरकारको विरोधमा झण्डाहरू प्रदर्शन गर्दै रङ्गशाला प्रवेश गरे पनि उक्त खेल बिना कुनै अवरोध सम्पन्न भएको थियो ।