मिडिया हाउसअघि शंकास्पद पार्किङ प्रकरण: अनुसन्धान अझै अघि बढेन

  • प्रकाशित मिति : २०८३ असार ३१, बुधबार
  • नेपाल टेल संवाददाता

प्रमुख सञ्चारगृहका गेट अवरुद्ध हुने गरी शंकास्पद रूपमा पार्किङ गरिएका सवारीसाधनबारे प्रहरीले औपचारिक अनुसन्धान अघि नबढाएको पाइएको छ।

सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले घटनामा संलग्नको पहिचान गरी कानुनी कारबाही हुने बताएका भए पनि जिल्ला प्रहरी परिसर काठमाडौंले हालसम्म मुद्दा दर्ता हुने गरी अनुसन्धान सुरु नभएको जनाएको छ। प्रहरीका अनुसार घटनासम्बन्धी कुनै जाहेरी नपरेकाले औपचारिक अनुसन्धान अघि बढाइएको छैन।



घटनापछि ट्राफिक प्रहरीले अनधिकृत पार्किङ गरेको भन्दै सम्बन्धित सवारीसाधनलाई यातायात व्यवस्था ऐनअनुसार कारबाही गरेको जनाएको छ। तर, गाडी कसले र कुन उद्देश्यले सञ्चारगृहका गेटमा पार्किङ गर्यो भन्ने विषयमा प्रशासनले कुनै आधिकारिक निष्कर्ष सार्वजनिक गरेको छैन।

यस घटनामा प्रयोग भएका केही सवारीसाधनका धनीको सम्बन्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेतासँग रहेको चर्चा भएपछि राजनीतिक प्रतिक्रिया पनि बढेको छ। रास्वपाले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ भने विपक्षी दल र नेपाल पत्रकार महासंघले पनि गम्भीर अनुसन्धानको माग गरेका छन्।

सञ्चारगृहको आवतजावत प्रभावित हुने गरी गरिएको उक्त घटनाको उद्देश्य र संलग्न व्यक्तिबारे स्पष्ट तथ्य सार्वजनिक नभएकाले छानबिनको माग अझै जारी रहेको छ।