१०० दिनमै आफ्नै सांसदको निशानामा रास्वपा सरकार, कार्यशैलीमाथि चर्किँदै असन्तुष्टि

  • प्रकाशित मिति : २०८३ असार ३२, बिहीबार
  • नेपाल टेल संवाददाता

दुईतिहाइ नजिकको बहुमतसहित गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार १०० दिन नाघ्दै आफ्नै सांसदहरूको आलोचनाको केन्द्रमा परेको छ। विपक्षीभन्दा सरकारको कार्यशैलीप्रति असन्तुष्टि रास्वपाभित्रै चर्किन थालेपछि सरकारमाथि दबाब बढेको हो।

सुकुम्बासी व्यवस्थापन, नियुक्तिमा पारदर्शिता, सेवा प्रवाह, किसानका समस्या, उद्योग–व्यवसायको वातावरण र पछिल्ला विवादित घटनालाई लिएर रास्वपाका सांसदहरूले संसददेखि सामाजिक सञ्जालसम्म सरकारको खुलेर आलोचना गर्न थालेका छन्। पार्टीका सचेतकदेखि केही प्रभावशाली सांसदसम्मले सरकारको काम अपेक्षाअनुसार नभएको टिप्पणी गरेका छन्।



बढ्दो असन्तुष्टिबीच सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाहसँग सरकारको कार्यसम्पादन र सुधारका विषयमा छलफल गरेका छन्। स्रोतका अनुसार छलफलमा मन्त्रीहरूको कार्यक्षमता, सरकारको निर्णय प्रक्रिया र जनअपेक्षा सम्बोधन गर्ने विषय उठाइएको थियो।

रास्वपाभित्र सरकारको बचाउ गर्ने र कार्यशैली सुधारको माग गर्ने दुई धार देखिन थालेका छन्। बलियो जनादेश पाएर बनेको सरकार आफ्नै पार्टीभित्रबाट बढ्दो आलोचनामा परेपछि आगामी दिनमा सरकारको कार्यशैलीमा सुधार हुन्छ कि हुँदैन भन्ने चासो बढेको छ।