मिटरब्याजपीडित र गृहमन्त्री सुधन गुरुङबीच दिनभर चलेको वार्ता केही समयका लागि स्थगित भएको छ। गृहमन्त्री गुरुङ वार्तास्थलबाट बाहिरिएपछि छलफल रोकिएको हो ।
मिटरब्याजपीडित पैदल मार्चका अगुवा तथा जेनजी अभियन्ता लक्ष्मी घिमिरेका अनुसार पीडित पक्षले गृहमन्त्री गुरुङलाई बुझाएको ६ बुँदे मागसहितको मस्यौदा अध्ययनका लागि मुख्यसचिव गोविन्दबहादुर कार्की कहाँ पठाइएको छ ।
मुख्यसचिव कार्कीले मस्यौदाबारे अध्ययन गरी सुझाव दिएपछि वार्ता पुनः सुरु हुने र आजै निष्कर्षमा पुग्ने अपेक्षा गरिएको घिमिरेले बताइन् ।
उनका अनुसार गृहमन्त्री गुरुङले मस्यौदाका केही बुँदामा कानुनी जटिलता देखिएको उल्लेख गर्दै समस्याको दीर्घकालीन समाधान खोजिनुपर्ने धारणा राखेका छन् । वार्ताका क्रममा पेश गरिएको ६ बुँदे मस्यौदाका विषयवस्तु भने हालसम्म सार्वजनिक गरिएको छैन ।