आज साउन १, ‘ब्लु बस’ खै ?

  • प्रकाशित मिति : २०८३ श्रावण २, शनिबार
  • नेपाल टेल संवाददाता

सरकारले साउन १ गतेबाट ‘ब्लु बस’ सञ्चालन गर्ने घोषणा गरे पनि कार्यान्वयन भएकाे छैन । हालसम्म साझा यातायातसँग सम्झौतासमेत भएको छैन।

सरकारले शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजनामा महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सञ्चालन गर्ने घोषणा गरेको थियो। पहिलो चरणमा १०० दिनभित्र २५ वटा बस सञ्चालनमा ल्याउने लक्ष्य राखिएको थियो।



पूर्वाधार विकास मन्त्रालयका उपसचिव ज्ञानराज लम्सालले साझा यातायातसँग सम्झौता प्रक्रियामै रहेको बताए। उनका अनुसार आवश्यक प्रक्रिया पूरा गरी छिट्टै टुंग्याउने तयारी भइरहेको छ।

साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र अर्यालले केही बसलाई ‘ब्लु बस’ अवधारणाअनुसार सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको बताए। उनले ‘ब्लु बस’ नाम भए पनि साझा यातायातका बसको परम्परागत हरियो रङ परिवर्तन नहुने स्पष्ट पारे।

उनका अनुसार सेवा निःशुल्क हुने भएकाले सञ्चालन खर्च सरकारले व्यहोर्नुपर्नेछ। सरकारसँग सम्झौता भएपछि मात्र रुट परमिटलगायतका आवश्यक प्रक्रिया अघि बढ्ने उनले जानकारी दिए।

साझा यातायातमा नेपाल सरकारको ९० प्रतिशतभन्दा बढी सेयर छ। सस्तो, भरपर्दो र पहुँचयोग्य सार्वजनिक यातायात सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना भएको साझाले १९६२ देखि काठमाडौं उपत्यकामा सेवा दिँदै आएको छ।

सरकारले १०० दिनभित्र २५ वटा ब्लु बस सञ्चालन गर्ने प्रतिबद्धता जनाएको भए पनि हालसम्म एउटा बससमेत सञ्चालनमा आउन सकेको छैन। यता, महिलालाई छुट्टै बसमा यात्रा गराउने अवधारणामाथि पनि विभिन्न तहबाट आलोचना हुँदै आएको छ।