लन्डन । लेबर पार्टीका वरिष्ठ नेता तथा ग्रेटर म्यानचेस्टरका पूर्वमेयर एन्डी बर्नहम सोमबार बेलायतका नयाँ प्रधानमन्त्री बन्नुहुने भएको छ । उहाँले गत महिना राजीनामा घोषणा गर्नुभएका किअर स्टार्मरलाई प्रतिस्थापन गर्नुहुनेछ ।सत्तारुढ लेबर पार्टीको नेताका रूपमा स्टार्मरको उत्तराधिकारी चयन गर्ने प्रक्रियामा बर्नहम एक्लो उम्मेदवार बन्नुभएको थियो । बेलायती संसदीय परम्पराअनुसार संसदको तल्लो सदन हाउस अफ कमन्समा बहुमत रहेको दलका नेता नै प्रधानमन्त्री बन्ने व्यवस्था छ ।
बर्नहमले लेबर पार्टीका ४०१ सांसदमध्ये ३४९ जनाको समर्थन प्राप्त गरेपछि शुक्रबार पार्टीको विशेष सम्मेलनबाट उहाँलाई नेता घोषणा गरिएको थियो । यद्यपि, उहाँ औपचारिक रूपमा सोमबार मात्र प्रधानमन्त्री बन्नुहुनेछ । त्यसका लागि उहाँले बकिङ्घम दरबारमा राजा चाल्र्स तृतीयसँग भेट गरी सरकार गठनको निम्तो प्राप्त गर्नुहुनेछ । त्यसअघिसम्म स्टार्मरले कामचलाउ प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्नुहुनेछ ।
बेलायतको संसदीय व्यवस्थामा आम निर्वाचनबिना नै सत्तारुढ दलले आफ्नो नेता परिवर्तन गर्न सक्छ । प्रधानमन्त्रीले दलको नेतृत्वबाट राजीनामा दिएमा वा नेतृत्व चुनौतीका कारण पद छोडेमा सो दलले आन्तरिक प्रक्रियाबाट नयाँ नेता चयन गर्न सक्छ । नयाँ नेता नै संसदमा बहुमत भएको अवस्थामा प्रधानमन्त्री बन्ने व्यवस्था छ ।
बेलायतमा अर्को आम निर्वाचन सन् २०२९ सम्म गर्नुपर्ने छैन । सन् २०२४ को निर्वाचनपछि लेबर पार्टीले बहुमतसहित सरकार गठन गरेको थियो ।
स्टार्मरले गत जुन २२ मा लेबर पार्टीको नेतृत्वबाट राजीनामा दिने घोषणा गर्नुभएको थियो । उहाँको नेतृत्व विभिन्न विवाद र राजनीतिक चुनौतीका कारण आलोचित बनेको थियो । विशेषगरी यौन अपराधमा दोषी ठहरिएका जेफ्री एपस्टिनसँग सम्बन्धित व्यक्तिलाई अमेरिकाका लागि बेलायती राजदूत नियुक्त गर्ने निर्णयले उहाँलाई थप दबाबमा पारेको थियो ।
मे महिनामा भएको स्थानीय निर्वाचनमा लेबर पार्टीले ठूलो पराजय बेहोरेपछि पार्टीभित्र स्टार्मरको नेतृत्वमाथि प्रश्न उठेको थियो । बर्नहमले संसदको उपनिर्वाचन जितेपछि उहाँ पार्टी नेतृत्वका लागि बलियो दाबेदार बन्नुभएको थियो ।
लेबर पार्टीको नियमअनुसार, नेतृत्व चुनौती दिन हाउस अफ कमन्समा रहेका पार्टीका कम्तीमा २० प्रतिशत सांसदको समर्थन आवश्यक पर्छ । बर्नहमले आवश्यक समर्थन सजिलै जुटाएपछि उहाँ निर्विरोध नेता चयन हुनुभएको हो ।
बर्नहम एक दशकभित्र बेलायतका सातौँ प्रधानमन्त्री बन्नुहुनेछ । संसदीय प्रणालीका कारण बेलायतमा आम निर्वाचनबाहेक पनि प्रधानमन्त्री परिवर्तन हुने गरेको छ ।
पछिल्लो दशकमा चार जना प्रधानमन्त्री आम निर्वाचन जितेर नभई पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धामार्फत सत्तामा आएका थिए । कन्जरभेटिभ पार्टीका थेरेसा मे र बोरिस जोनसन आफ्ना पूर्ववर्तीको राजीनामापछि प्रधानमन्त्री बन्नुभएको थियो ।
त्यस्तै, सन् २०२२ मा जोनसनले पद छोडेपछि लिज ट्रस प्रधानमन्त्री बन्नुभयो । तर, ४९ दिनमै उहाँले राजीनामा दिएपछि सोही प्रक्रियाबाट ऋषि सुनक प्रधानमन्त्री बन्नुभएको थियो ।
बर्नहमको आगमनसँगै पछिल्लो दशकमा बेलायती राजनीतिमा प्रधानमन्त्री परिवर्तनको क्रम अझै तीव्र बनेको छ । युरोपेली सङ्घबाट बेलायत बाहिरिने निर्णय (ब्रेक्जिट) पछिका राजनीतिक र आर्थिक चुनौती व्यवस्थापनमा यस अवधिका सरकारहरू आलोचनामा पर्दै आएका छन् ।