बेलायतमा अगस्ट ३० मा हुने १७ औं नेपाली मेलाका लागि सोमबारदेखि स्टल बुकिङ खुला

  • प्रकाशित मिति : २०८३ श्रावण ५, मंगलवार
  • नेपाल टेल संवाददाता

लन्डन । बेलायतमा आगामी ३० अगस्टमा हुने १७औँ नेपाली मेलाका लागि सोमबारदेखि स्टल बुकिङ खुला भएको छ ।

स्टल बुकिङ सोमबार मध्याह्न १२ बजेदेखि खुलेको आयोजक तमु धीं यूकेकी उपाध्यक्ष तथा स्टल व्यवस्थापनको जिम्मेवारी पाएकी दिलमाया गुरुङले जानकारी दिनुभएको छ । उहाँले www.tamudheeuk.com मा गई स्टल बुकिङ गर्न सकिने बताउनुभएको छ ।



‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ मुख्य सन्देशसहित हुने नेपाली मेला केम्पटन पार्क रेसकोर्स, स्टेन्स रोड ईस्ट, सनबरी-अन-थेम्स, मिडलसेक्समा बिहान १० देखि साँझ ८ बजेसम्म सञ्चालन हुनेछ।

मेलामा सांस्कृतिक प्रस्तुति, परम्परागत संगीत तथा नृत्य, प्रामाणिक नेपाली खानाका परिकार, कला तथा हस्तकला प्रदर्शनी, सामुदायिक अन्तरक्रिया, पारिवारिक मनोरञ्जन तथा व्यापारिक स्टलहरू मुख्य आकर्षणका रूपमा रहनेछन्। विशेषगरी लाखे नृत्य र मारुनी नृत्य लगायतका मौलिक नेपाली सांस्कृतिक प्रस्तुतिले दर्शकहरूको मन जित्ने विश्वास गरिएको छ।

मेलामा नेपाल दूतावास, लन्डनको सहकार्य रहनेछ। आयोजक संस्थाले विदेशमा रहेका नेपाली पुस्तालाई आफ्नो मौलिक संस्कृति र परम्परासँग जोड्ने तथा नेपाली समुदायबीच आपसी सद्भाव र एकता मजबुत बनाउने लक्ष्य रहेको जनाएको छ। मेलामा विभिन्न सांस्कृतिक झाँकी, नेपाली लोकसंस्कृतिको प्रदर्शन, नेपाली उत्पादनहरूको प्रदर्शनी तथा सामुदायिक नेटवर्किङका अवसरहरू समेत उपलब्ध हुनेछन्। आयोजकले बेलायतमा रहेका सम्पूर्ण नेपाली तथा नेपालप्रेमी समुदायलाई कार्यक्रममा सहभागी भई नेपाली कला, संस्कृति, संगीत, नृत्य, भोजन र सम्पदाको उत्सव मनाउन आग्रह गरेको छ।

कार्यक्रममा बेलायतभरका नेपाली समुदायका साथै विभिन्न जातीय तथा सांस्कृतिक समूहहरूको उल्लेखनीय सहभागिता रहने आयोजकको अपेक्षा छ।