बेलायतमा घरायसी बिजुली बिलबाट भ्याट कटौती गर्ने घोषणा, उपभोक्तालाई वार्षिक ४५ पाउन्डसम्म राहत

  • प्रकाशित मिति : २०८३ श्रावण ६, बुधबार
  • नेपाल टेल संवाददाता

बेलायतका नवनियुक्त प्रधानमन्त्री एन्डी बर्नह्यामले घरायसी बिजुलीको बिलमा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट) कटौती गर्ने घोषणा गरेका छन्।

प्रधानमन्त्री नियुक्त भएको पहिलो दिनमै उनले आगामी १ अक्टोबरदेखि घरायसी ऊर्जा बिलमा भ्याट घटाउने बताएका हुन्। बीबीसीका अनुसार, भ्याट कटौतीपछि सामान्य मात्रामा विद्युत् प्रयोग गर्ने घरायसी उपभोक्ताले वार्षिक करिब ४५ पाउन्ड बचत गर्ने अनुमान गरिएको छ।



पश्चिम एसियाको द्वन्द्वका कारण थोक ऊर्जा मूल्य बढ्दा बेलायतमा जुलाई महिनामा घरायसी बिजुली बिल करिब १३ प्रतिशत ले बढेको थियो। यसले बढ्दो जीवनयापन लागतबीच सर्वसाधारणमाथि थप आर्थिक दबाब परेको थियो।

ग्रीन पार्टीका नेता ज्याक पोलान्स्कीले भ्याट कटौतीलाई सकारात्मक सुरुवात भने पनि यो पर्याप्त नभएको प्रतिक्रिया दिएका छन्। उनले ऊर्जा मूल्य नियन्त्रणका लागि थप प्रभावकारी कदम आवश्यक रहेको बताएका छन्।

यद्यपि, प्रधानमन्त्री बर्नह्यामले भ्याट कटौतीबाट हुने राजस्व घाटा कसरी पूर्ति गर्ने भन्ने विषयमा स्पष्ट योजना सार्वजनिक नगरेको भन्दै केही पक्षले प्रश्न उठाएका छन्।