नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान राजनीति प्रतिशोधको भावनाबाट माथि उठेर सहकार्यको बाटोमा अघि बढ्नुपर्ने बताएका छन्। स्वास्थ्य उपचारका क्रममा विदेशमा रहेका देउवाले बीपी स्मृति दिवसका अवसरमा जारी वक्तव्यमार्फत आफू छिट्टै स्वदेश फर्किने पनि जानकारी दिएका हुन्।
आठ दशक लामो जीवनयात्रा र करिब छ दशकको सक्रिय राजनीतिक अनुभव स्मरण गर्दै देउवाले लोकतन्त्र, संविधानवाद र जनअधिकारप्रतिको आफ्नो प्रतिबद्धता अडिग रहेको बताएका छन्। उनले फरक विचारप्रति राज्यले असहिष्णु व्यवहार देखाउनु र राज्यशक्तिको प्रतिशोधपूर्ण प्रयोग गर्नु लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको उल्लेख गरेका छन्।
देउवाले वर्तमान सरकारले प्रतिपक्षप्रति प्रतिशोधको राजनीति गर्दै स्वतन्त्र न्यायपालिका र संवैधानिक निकायमाथि दबाब सिर्जना गर्न खोजेको आरोप लगाए। यस्तो प्रवृत्ति लोकतान्त्रिक प्रणालीका लागि गम्भीर चुनौती भएको उनको भनाइ छ।
जननायक बीपी कोइरालाको मेलमिलापको नीतिलाई स्मरण गर्दै उनले अहिले देशलाई विभाजन होइन एकता, अविश्वास होइन विश्वास र प्रतिशोध होइन सहकार्य आवश्यक रहेको बताए। विगतको अनुभव र नयाँ पुस्ताको सिर्जनशीलतालाई जोडेर राष्ट्र निर्माणको साझा अभियान अघि बढाउनुपर्नेमा पनि उनले जोड दिएका छन्।
वक्तव्यको अन्त्यमा देउवाले नेपाली जनताको लोकतान्त्रिक चेतना र न्यायप्रतिको विश्वासप्रति आफू विश्वस्त रहेको उल्लेख गर्दै राष्ट्रियता, प्रजातन्त्र र समाजवादको रक्षाका लागि पुनः सक्रिय रूपमा स्वदेश फर्किन लागेको बताएका छन्।